क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्ने चाहना व्यक्त

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, १४ : ०४
क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्ने चाहना व्यक्त

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्ने चाहना व्यक्त गरेका छन्।गत समरमा इटालियन क्लब युभेन्टसबाट ओल्ड ट्राफोर्ड फर्किएका ३७ वर्षीय रोनाल्डोले युनाइटेडसँग कुनै क्लबले राम्रो प्रस्ताव गरेमा आफूलाई छाड्ने अनुमति दिन अनुरोध गरेको ‘टी टाइम्स’ले उल्लेख गरेको छ।

उनी गत सिजन युनाइटेडको शीर्ष तथा समग्रमा तेस्रो सर्वाधिक गोलकर्ता बनेका थिए। युनाइटेड प्रिमियर लिगमा छैटौं स्थानमा रहँदा च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि रोनाल्डोको भविष्यबारे अड्कलबाजी गर्न थालिएको थियो। युनाइटेडमा रोनाल्डोको सम्झौता अझै एक वर्ष बाँकी छ।

पाँच पटकको ‘बालोन डी’ओर विजेता रोनाल्डो आफ्नो करिअरको अन्तिम चरणमा प्रवेश गर्दा च्याम्पियन्स लिग खेल्न चाहन्छन्।च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता (१४०) रहेका रोनाल्डोको चाहना युरोपा लिग खेल्ने छैन। 

तर, युनाइटेड रोनाल्डोलाई बिक्री गर्ने पक्षमा छैन। युनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डो आफ्नो योजनाको हिस्सा भएको बताएका छन्।गत सिजन युनाइटेडबाट सबैखाले प्रतियोगितामा गरेर २४ गोल गरेका रोनाल्डोले अझै शीर्ष लिगमा कम्तीमा तीन वर्ष खेल्न सक्ने द टाइम्सले उल्लेख छ। पछिल्लो समय रोनाल्डोको नाम इंग्लिस क्लब चेल्सी र जर्मन क्लब बायर्न म्युनिखसँग जोडिएको छ।

टेन ह्यागले रोनाल्डोसँग जोडिन उत्सुक रहेको बताए पनि उनको खेल्ने शैली डचम्यानसँग मिल्छ भन्ने स्पष्ट छैन।

प्रतिक्रिया दिनुहोस