काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) मा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन (अपे्रशन बेस) अनुरुप पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेका छन् ।
काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ १७ वटा विमानका लागि मात्रै पार्किङको क्षमता रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले बाँकी ३३ विमानले काठमाडौँ बाहिरबाट उडान गर्नुपर्ने निर्णय गरको थियो । आन्तरिकतर्फ १७ वटा विमानले रात्रिकालीन बेसअनुरुप उडान गर्नुपर्ने प्राधिकरणको निर्णयबमोजिम अन्य एयरलाइन्सले काठमाडौँ बाहिरबाट उडान सञ्चालन गरिरहेका हुन् ।
आन्तरिक उडानमा नौ वायुसेवा कम्पनीका ५२ विमान छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ चाप बढेर उडान सुरक्षामा चुनौती थपिएको भन्दै विमानस्थल कार्यालयले एयरलाइन्सलाई बेसअनुरुप नै उडान सञ्चालन गर्न पटकपटक आग्रह गर्दै आएको थियो । प्राधिकरणको बैठकले वायुसेवा कम्पनीले यही असार १३ देखि तोकिएको बेस विमानस्थलमा राति पार्किङ गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने निर्णय गरेको थियो ।
प्राधिकरणले आवश्यक सहजीकरण गरिदिएका कारण एयरलाइन्सले बेसअनुरुप नै काठमाडौँ बाहिरबाट पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेको नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराजशर्मा कँडेलले बताए । उनले भने, “प्राधिकरणले काठमाडौँ बाहिरका गन्तव्यमा पार्किङका लागि सहजीकरण गरेपछि अहिले सबैजसो विमानले बाहिरबाट उडान सञ्चालन गरिरहेका हुन् । प्राधिकरणको निर्णय ९० प्रतिशत कार्यान्वयनमा आइसकेको छ ।”
प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ ११ वटा विमानलाई पार्किङ क्षमता छ । तेत्तीस विमानले रात्रिकालीन बेसअनुरुप उडान गर्नुपर्ने हुन्छ । यसअघि आन्तरिकतर्फ ५१ वटा विमान पार्किङ भइरहेको थियो । हाल आन्तरिकतर्फ ११ वटा हेलिकप्टर कम्पनीका ३८ हेलिकप्टर छन् । सङ्घका प्रवक्ता शर्माका अनुसार काठमाडौँ विमानस्थलमा २१ वटा हेलिकप्टरलाई पार्किङको व्यवस्था भएको र बाँकी हेलिकप्टरका लागि भक्तपुरको नलिनचोकमा व्यवस्था गरिने भएको छ । हेलिकप्टरले पनि रात्रिकालीन बेसअनुरुप उडान सञ्चालन गरिरहेका छन् ।
कति विमानले रात्रि बेस उडान गरिरहेका छन् ?
निजी क्षेत्रको अग्रणी हवाइसेवा प्रदायक बुद्ध एयरले हाल भैरहवामा दुई, धनगढीमा एक तथा जनकपुर र भद्रपुरमा समान एक विमानले रात्रि पार्किङ गरी उतैबाट काठमाडौँ पहिलो उडान भर्दै आएका छन् । कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले रात्रि बेसअनुरुप उडान सञ्चालन गरिरहेको बताए । उनका अनुसार कतिपय जहाज मर्मत गर्नुपर्ने भएकाले केही ह्याङ्गरमा र बाँकी पार्किङमै बस्ने गरेका छन् । बुद्ध एयरसँग १४ थान एटिआर र दुई बिजक्राफ्टसहित कूल १६ विमान छन् ।
यती एयरलाइन्सले विराटनगर र नेपालगञ्जमा समान एक जहाज रात्रि पार्किङ गरिरहेको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार कम्पनीसँग रहेको पाँच थान एटिआर–७२ विमानमध्ये दुई वटा काठमाडौँ बाहिर पार्किङ भइरहेको छ भने दुई वटा पार्किङमा र एक विमान ह्याङ्गरमा रात्रि व्यवस्थापन गरिँदै आइएको छ । श्री एयरलाइन्सले विराटनगर, भैरहवा र नेपालगञ्जमा गरी कूल तीन जहाज रात्रि पार्किङ गरिरहेको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । बाँकी विमान काठमाडौँमै बस्छन् । कम्पनीसँग जम्मा आठ जहाज रहे पनि पाँच वटा मात्रै उडानमा छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान उडान चाप नियन्त्रणका साथै हवाइसुरक्षा सुदृढीकरणका लागि प्राधिकरण सञ्चालक समितिको गत असार ५ गतेको बैठकले निर्णय गरेअनुरुप हेलिकप्टरको हकमा असार ८ गतेदेखि र विमानको हकमा असार १३ गतेदेखि अनुमति लिएकालाई बेसमै जान निर्देशन दिएको थियो । जसअनुसार विमान कम्पनीले काठमाडौँबाहेक अनुमति लिएका विमानस्थलमा रात्रि पार्किङ गरेका हुन् । साथै हेलिकप्टरको हकमा हाल पार्किङ भइरहेको स्थानमा एक महिनाभित्रै एशियाली विकास बैंकको ऋण सहयोगमा ह्याङ्गर निर्माण सुरु हुने भएकाले साइट क्लिएर गर्न जरुरी रहेको प्राधिकरणको भनाइ छ । काठमाडौँ बाहिरका १० वटा विमानस्थलमा रात्रिकालीन पार्किङ गर्नेगरी व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ । त्यसका लागि रु ५० करोड खर्च भएको र आवश्यक सुरक्षा तथा अन्य सेवा सुविधा उपलब्ध गराएको जनाइएको छ ।
त्रिअविमा रहेको आन्तरिक वायुसेवा कम्पनीका अप्रेशन बेस उपत्यका बाहिर स्थानान्तरण गर्ने प्रयोजनका लागि अध्ययन एवं सुझावका लागि गठित समितिको सुझावअनुसार प्राधिकरणले एयरलाइन्सलाई बेसअनुरुप उडान गर्न निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ असार २०७९, १३ : ३५
लेखकबाट थप