अर्थतन्त्रमा थप जटिलता थपिँदै गएको छः युवराज खतिवडा

सफल खबर संवाददाता

शनिबार, १८ असार २०७९, २० : ५५
अर्थतन्त्रमा थप जटिलता थपिँदै गएको छः युवराज खतिवडा

काठमाडौँ । चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा थप जटिलता थपिँदै गएको पूर्व अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्।काठमाडौंमा शनिवार मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९/०८०को बजेट विषय अन्तरक्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री खतिवडाले निर्माण सामग्री, पेट्रोलियम पदार्थ, बैंकको ब्याजदर, यातायात ढुवानी भाडासमेत बढ्दै गएकाले अर्थतन्त्रमा चुनौती थपिँदै जाने बताए।

सरकारले आयात नियन्त्रण गर्न नसके नेपाल पनि श्रीलंकाको पदचापमा जानसक्ने चेतावनी अर्थविद्हरूले दिइरहेका छन्। अर्थविद्हरूले अर्थतन्त्रमा थप चुनौतीहरू बढ्दै जाने भनिरहेको अवस्थामा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले पनि चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा थप जटिलताहरू थपिँदै गएको बताए।

पूर्वअर्थमन्त्री खतिवडाले सरकारले आगामी आर्थिक वर्षमा आयात प्रतिस्थापन गरेर निर्यातलाई दोब्बर गर्ने नीति ल्याएको भने पनि सम्भव नभएको दाबी गरे।उनले हरेक चिजको मूल्यवृद्धि हुँदै गएकाले हाम्रो कुनै पनि उत्पादनमा प्रतिस्पर्धा नहुने भएकाले निर्यात दोब्बर हुन नसक्ने बताए।

उनले भने, ‘अर्थतन्त्रमा जटिलता थपिँदै छ। जसमा निर्माण क्षेत्रमा २७ प्रतिशतले निर्माण सामग्रीको मूल्य बढेको छ। पेट्रोलियम पदार्थको साढे ७० प्रतिशतले बढिसकेको छ। निर्माण सामग्रीको मूल्य यसरी बढी रहँदा निर्माण सामग्रीको मूल्य नबढ्ने गरी गरिएको व्यवस्था भनिरहँदा झन मूल्य किन बढ्छ। २७ प्रतिशतले निर्माण सामग्रीको मूल्य बढ्ने बैंकको ब्याजदर बढ्ने,यातायात ढुवानी बढ्ने अनि हाम्रो उत्पादन कस्तो होला ? अर्को वर्ष हाम्रा कतिपय उत्पादन प्रतिष्पर्धी नै हुँदैनन्। निर्यात दोब्बर कहाँबाट हुन्छ। हामी कुन नयाँ चिज निर्यात गर्दैछौं र निर्यात दोब्बर गर्छौं भनेर हुन्छ।’

पूर्वअर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुन नसक्ने दाबी गरे। उनले आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हुदाँ धेरै आयात गर्नुपर्ने बताए। डा.खतिवडाले वर्तमान सरकारले पाँच वर्षमा मुलुकको व्यापार सन्तुलन ल्याए सबैले सम्मान गर्ने बताए।

उनले आर्थिक वृद्धिदर ५ प्रतिशत माथि जाने बित्तिकै व्यापार घाटामा दबाब पर्ने अवस्था रहेको बताए।उनले भने, ‘३ खर्ब बढी शोधानान्तर घाटा हुने सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर अर्को वर्ष गर्दै छ। यदि, ८ प्रतिशतको आर्थिक वृद्धि पुग्ने अवस्था आयो भने बाह्य क्षेत्र असन्तुलन अहिलेको भन्दा दोब्बर खराब हुँदै जान्छ। यो कुरो सरकारले हेक्का राखे हुन्छ।’

डा. खतिवडाले आर्थिक वृद्धि गरेर मुलुकले निर्यात गर्न नसके शोधानान्तर घाटा बढ्ने र शोधानान्तर घाटा हुँदा पुनःअर्थतन्त्र भयावह हुने भन्दै सरकार अहिले त्यही बिन्दुमा रहेको जिकिर गरे।

उनले भने, ‘होइन भने आर्थिक वृद्धिदर ५ प्रतिशत जान थाल्दा हामीले यति धेरै आयात गर्नुपर्छ। मेसिन, औद्योगिक कच्चा पदार्थ, निर्माण सामग्री आयात गर्नुपर्छ। हामीले ५ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिका कुरा गर्ने बित्तिकै व्यापार घाटामा बढी दबाब पर्छ। आर्थिक वृद्धिले निर्यात बढाउन सकेन भने फेरि शोधानान्तर घाटा हुन्छ। शोधानान्तर घाटा भएपछि फेरि अर्थतन्त्र भयावह हुन्छ। सरकार अहिले यही बिन्दुमा छ।’

उनले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि पुग्ने अवस्था आयो भने वाह्य क्षेत्र असन्तुलन अहिलेको भन्दा दोब्बर खराब हुँदै जाने भन्दै सरकारले यो कुरामा हेक्का राख्नुपर्ने बताए।

उनले वर्तमान सरकारले भनेको जस्तै पाँच वर्षमा व्यापार सन्तुलन भयोभने उहाँहरूलाई सम्मान गर्ने बताए।

प्रतिक्रिया दिनुहोस