दुई जनामाथि राजस्व छलीको मुद्दा

सफल खबर संवाददाता

शनिबार, १८ असार २०७९, १७ : ०३
दुई जनामाथि राजस्व छलीको मुद्दा

काठमाडाैँ। राजस्व अनुसन्धान विभागले काँचो सुन खरिदबिक्री गर्दा राजस्व चुहावट गर्ने दुई जनामाथि मुद्दा दायर गरेको छ।विभागले रुपन्देही सिद्धार्थनगर नगरपालिका घर भई हाल काठमाडौं टोखा नगरपालिका ६ मा गणेश ज्वेलर्स सञ्चालन गरिरहेका सुनिता विक र कास्की पोखरा महानगरपालिका १४ बस्ने २५ वर्षका रमेश सुनारविरुद्ध जिल्ला अदालत कास्कीमा असार १४ गते मुद्दा दर्ता गरेको हो।

२०७८ माघ १५ गते सुनार पोखरा पावरहाउस चोकबाट एक हजार ७.७० ग्राम काँचो सुन सहित पक्राउ परेका थिए। पक्राउ परेका उनलाई प्रहरीले विभागमा बुझाएपछि अनुसन्धानको क्रममा अवैध सुन ओसार पसार गरी राजस्व चुहावट गर्ने कार्यमा ज्वेलर्सका सञ्चालकको समेत संलग्नता रहेको खुलेको हो।

अनुसन्धानको क्रममा चोरी पैठारी भएको सुनलाई गालेर अवैध ओसार पसार गरेको, बैङ्क तथा दर्ता रहेको फर्मबाट सुन खरिद नगरी अन्यत्रबाट सुन चोरी पैठारी गरी काँचो सुन खरिद गरेको प्रमाण पेश गर्न नसकेको विभागले जनाएको छ।

साथै उनीहरूले प्रचलित कानुन बमोजिम बुझाउनुपर्ने राजस्व नबुझाएको तथा राजस्व नतिर्ने नियतले सुन ओसारपसारमा संलग्न रहेको पुष्टि भएको छ। बरामद गरेको सुनको मूल्य बराबर ८० लाख १३० रुपैयाँ बराबरको विदेशी विनिमय अपचलन गरेकोले  उनीहरुविरुद्ध विभागले सोही रकम बराबरको बिगो कायम गरी सजाय माग गरेको छ।

प्रतिक्रिया दिनुहोस