पर्वतका अधिकांश पानीका मुहानहरूमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’

सफल खबर संवाददाता

शनिबार, १८ असार २०७९, १४ : ५६
पर्वतका अधिकांश पानीका मुहानहरूमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’

पर्वतका अधिकांश पानीका मुहानहरूमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ। जिल्लाका सात ओटा स्थानीय तहमा पुगेर नमुनाका रूपमा लिइएका मुहानका पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले बताए।

यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको र यसले स्वास्थ्यमा असर गरिरहेको उनको भनाई छ।

‘कोलिफर्मको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकी लगायत महामारीजन्य रोगको सङ्क्रमण हुने खतरा बढेको छ। यसले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ,’ उनले भने, ‘हिउँदको समयमा भन्दा बर्खायामको समयमा ‘कोलीफर्म’ बढी भेटिन्छ। वर्षाका कारण बगेर आएको पानीले पानीको स्रोतमा जमिनको सतहमा रहेको फोहोर सहितको पानी मिसाउँछ। एक ठाउँको फोहोर बगेर अर्को ठाउँमा जान्छ।’

ल्याब टेक्निसियन मुना सापकोटाका अनुसार खाने पानीका स्रोतमा दिसामा पाइने उक्त जीवाणु उच्च मात्रामा रहेको पाइएको छ।

कुस्मा नगरपालिका भित्रका विभिन्न ३१ ठाउँमा रहेका पानीका स्रोतमा गरिएको परीक्षणमा तीमध्येका ८० प्रतिशतमा, फलेवास नगरपालिका भित्रका विभिन्न १४ ठाउँमा रहेका पानीका स्रोतको परीक्षण गर्दा तीमध्येका ७८ प्रतिशत, मोदी गाउँपालिकाका १५ ठाउँको पानी परीक्षण गर्दा तीमध्येका ६६ प्रतिशत, महाशिला गाउँपालिकाका  १३ मुहानको पानी परीक्षण गर्दा तीमध्येका ६१ प्रतिशत, पैयुँ गाउँपालिका १४ मध्ये ५७ प्रतिशत र बिहादी गाउँपालिकाका १२ मध्ये ७५ प्रतिशत मुहानहरूको पानीमा ‘कोलीफर्म’ फेला परेको छ।

झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकी लगायत महामारीजन्य रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने पर्वत अस्पतालका चिकित्सक डा. सुरज नेपाली बताउँछन्।

‘कोलीफर्मयुक्त पानी पिउँदा दिसाजन्य रोगहरूले महामारीको रूप लिन सक्ने पनि अवस्था आउँछ। यसबाट जोगिनको लागि उपभोक्ता स्वयंले पानीको शुद्धीकरणमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘यो बर्खाको बेलामा कोलीफर्म मात्र नभई अरू कारणले पनि पानी दूषित बनेको हुन्छ। यो जमिनमा भएको फोहोर बाढीले बगाउँदै पिउने पानीमा मिसाएको हुन्छ। जसमा धेरै प्रकारका सङ्क्रमणको जोखिम रहेको हुन्छ। त्यसैले पानी राम्रोसँग उमालेर, फिल्टर गरेर वा अन्य उपाय अपनाएर शुद्ध बनाएर पिउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस