निजगढ विमानस्थल देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सक्ने प्रोजेक्ट : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, १८ असार २०७९, १३ : २५
निजगढ विमानस्थल देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सक्ने प्रोजेक्ट : प्रचण्ड

काठमाडाैँ। नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले निजगढ विमानस्थल देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सक्ने प्रोजेक्ट भएको बताएका छन्।शनिबार प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्री लगायतको टोलीमा सामेल भएर निजगढ पुगेका उनले निजगढ विमानस्थललाई ड्रिम प्रोजेक्ट र गेम चेन्जर प्रोजेक्ट भनेका थिए।

उनले फास्ट ट्र्याक पनि निजगढ एयरपोर्टसँग जोडिएको भन्दै यदि निजगढ एयरपोर्ट बनाउने प्रक्रिया समयमा अगाडि बढेन भने अर्बौं लगानी गरिएको फास्ट ट्र्याकको औचित्य नहुने बताए।‘त्यस दृष्टिले पनि हामीले निजगढ एयरपोर्टलाई बुझ्न जरुरी छ। फास्ट ट्र्याको डीपीआर बनाउँदा नै निजगढ एयरपोर्टको आवश्यकतालाई मध्यनजर गरेर गरिएको हो। यो कुरा पनि हामीले मनन गरेकै कुरा छ’, उनले भने।

उनले पहिले पनि धेरै अध्ययन छलफल गरेर नै निजगढमा विमानस्थल बनाउनु नै सबैभन्दा उपयुक्त भनिएको बताए। ‘त्यही मान्यता राखेर नै अर्बौं लगानी भइसकेको छ। झन्डै तीन अर्ब यहाँ लगानी भइसकेको छ। त्यो परिस्थितिमा राज्यले जो पहल कदमी लिएको छ। त्यसलाई दृढतापूर्वक अगाडि बढाउन जरुरी छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस