बेनी–जोमसोम सडक अवरुद्ध

रासस

शनिबार, १८ असार २०७९, ११ : ५६
बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी ।  म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज  बिहानदेखि अवरुद्ध भएको छ । 

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गए राती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले सडकको बिचमा ठुलो ढुङ्गा खसेर अवरोध भएको बताए। “सडक खुलाउने काम भइरहेको छ,” उनले भने । 

सडक स्तरोन्नतिको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको डोजर परिचालन गरेपनि सफल नभएपछि विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाउन सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव गरिएको छ । नेपाली सेनाको टोलीलाई विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाई सडक खुलाउन काभ्रेभीर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दीतर्फ आउने जाने सवारीसाधन बीच सडकमा रोकिएका छन् । 

अत्यावश्यक कामले गन्तव्यमा पुग्नुपर्ने सवारीसाधन परिवर्तन गरेर यात्रा गर्न बाध्य छन् । स्थानीयवासी, मुस्ताङ घुम्ने पर्यटक र मुक्तिनाथ दर्शनका लागि आउने र जाने भक्तजनलाई समस्या भएको छ । 

 

प्रतिक्रिया दिनुहोस