काठमाडाैँ। अविरल वर्षासँगै गएको पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरका एकै परिवारका ३ जनामध्ये २ जनाको शव फेला परेको छ। जिल्लाको फालेलुङ गाउँपालिका–७ बिदीनका ७१ वर्षीय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा उनका छोरा, बुहारीसहित ३ जना बेपत्ता भएका थिए। पहिरोमा बेपत्ता भएकामध्ये दलप्रसादका छोरा ४२ वर्षीय रुपलाल र अर्का १ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुखर प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए।
पहिरोले घर बगाउँदा ४२ वर्षीय रुपलाल मगर, रुपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगर बेपत्ता भएका थिए। पहिरोले घर बगाउँदा ७१ वर्षीय दलप्रसाद मगरको भने सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।
उद्धारका लागि स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। शुक्रबार राति करिब १० बजेतिर पहिरो जाँदा घर बगाएको थियो।स्थानीयका अनुसार पहिरोले घरसँगै रहेको गोठ समेत बगाँउदा पशु–चौपाया पनि मरेका छन्।
स्थानीय र प्रहरीको टोलीले पहिरोमा परेकाहरुको शुक्रबार रातिदेखि नै खोजी सुरु गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असार २०७९, १० : ४४
लेखकबाट थप