ककनीमा प्रकाशको शालिक अनावरण

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १५ : ०६
ककनीमा प्रकाशको शालिक अनावरण

काठमाडाैँ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र दिवंगत प्रकाश दाहालको शालिक अनावरण गरिएको छ । अध्यक्ष प्रचण्डले नुवाकोटको ककनीमा स्थापना गरिएको प्रकाशको शालिक शुक्रवार अनावरण गरेका हुन् । 

नेपाल पर्वतारोहण संघले निर्माण गरेको प्रकाशको शालिक अनावरण गर्न प्रचण्ड शुक्रवार बिहान ककनी पुगेका थिए । प्रकाशको शालिक प्रकाश दाहालको जन्मदिनको अवसर पारेर अनावरण गरिएको हो । शालिक राखिएको स्तम्भमा प्रकाश दाहालको जीवनीसमेत लेखिएको छ । प्रकाशले २०६९ जेठ १३ गते सगरमाथाको आरोहणसमेत गरेका थिए । सगरमाथा आरोही रहेकाले पर्वतारोहण संघले उनको शालिक निर्माण गरेकाे बताएको छ ।

०६६ सालमा सुरु भएको लुम्बिनी–सगरमाथा शान्ति अभियान कृष्ण केसीको नेतृत्वमा प्रकाश दाहाल, विना मगर, सरल सहयात्री, युवराज दुलाल (शरद), शिव डाँगी, मदन चुडाल र महेश्वर फुँयालले सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसबाहेक माओवादीको सशस्त्र संघर्ष तथा तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि पनि प्रकाशले प्रचण्डको सहयोगीका रूपमा काम गरेका थिए । 

प्रकाश दाहाल प्रचण्डको कान्छो सन्तान हुन् । २०७४ साल मंसिर ३ गते उनको हृदयघातका निधन भएको थियो । 

प्रतिक्रिया दिनुहोस