अर्थमन्त्रीको राजीनामा नआउञ्जेल आफूहरू अर्थमन्त्रीले प्रस्तुत गर्ने कुनै कार्यक्रममा सहभागी नहुने पार्टीको संसदीय दलको निर्णय : भैरव श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १३ : ०१
अर्थमन्त्रीको राजीनामा नआउञ्जेल आफूहरू अर्थमन्त्रीले प्रस्तुत गर्ने कुनै कार्यक्रममा सहभागी नहुने पार्टीको संसदीय दलको निर्णय : भैरव श्रेष्ठ

काठमाडाैँ  । एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्रीको राजीनामा नआउञ्जेल आफूहरू अर्थमन्त्रीले प्रस्तुत गर्ने कुनै कार्यक्रममा सहभागी नहुने पार्टीको संसदीय दलको निर्णय भएको बताए।सांसद श्रेष्ठले आफूहरूले बैठकमा अर्थमन्त्रीको कार्यसूची बहिष्कार गर्ने बताएसँगै एमाले सांसदहरू बाहिरिएका थिए।

सांसद श्रेष्ठले भने, ‘माननीय अर्थमन्त्रीज्यूले बजेट निर्माणजस्तो कुरामा अत्यन्तै संवेदनशील विषय २०७९ साल जेठ १४ गतेको साँझ राति ८ बजेदेखि १२ बजेसम्म अर्थ मन्त्रालयमा बजेट निर्माण गर्ने सवालमा बजेट महाशाखामा बाहिरका अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करका दायराहरूलाई, राजस्वका दायराहरूलाई जुन दररेट निर्धारण गरिन्छ। त्यसमा गम्भीर त्रुटि गर्नुभएको छ। बजेट निर्माणजस्तो सवालमा अर्थमन्त्रीले जे खालको व्यवहार गर्नुभयो, त्यो देशका लागि अत्यन्तै घातक कुरा हो। जबसम्म अर्थमन्त्रीज्यूको राजीनामा आउँदैन तबसम्म हामी उहाँले प्रस्तुत गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुने हाम्रो दलको निर्णय भएकाले म यही कुरा जानकारी गराउँदै यो प्रस्ताव नम्बर १ माथि हामी सामेल नहुनका निम्ति बहिष्कार गरेर हामी बाहिर जादैछौँ। यही कुरा म राख्न चाहन्छु।’

एमालेले अर्थमन्त्रीलाई बहिष्कार गरेसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो प्रस्ताव पेस गर्न अर्थमन्त्री शर्मालाई आग्रह गरेका थिए।बैठकमा अर्थमन्त्रीले पेस गरेकाे ‘आर्थिक विधेयक २०७९ लाई मुलरूपमै सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ।

त्यसैगरी, अर्थमन्त्री शर्माले पेस गर्नुभएको ‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक, २०७९ लाई मुलरूपमै सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पनि बहुमतले पारित भएको छ।

अर्थमन्त्री शर्माले पेस गरेकाे प्रस्तावमाथिको कारबाही सकिएलगत्तै एमाले सांसदहरू पुनः राष्ट्रिय सभा बैठकमा भाग लिन प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस