विस्थापित भए हजारौँ नागरिक

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १२ : २६
विस्थापित भए हजारौँ नागरिक

काठमाडाैँ  । प्रदेश १ मा बाढीपहिरो तथा डुबानका कारण हजारौँ नागरिक विस्थापित बनेका छन् । गत मंगलवारदेखि अविरल वर्षासँगै आएको बाढीले विस्थापित बनेकाहरू अहिले विद्यालय तथा छिमेकीकहाँ बसिरहेका छन् । जोखिम क्षेत्रको नक्सांकन नहुँदा धेरै विस्थापित बनेका हुन् । प्रदेश सरकारले पनि पूर्वतयारीमा खासै ध्यान दिएको पाइँदैन । 

विपद् तयारीस्वरुप जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्न नक्सांकनको काम गर्नुपर्ने हुन्छ । तर, जोखिम क्षेत्रको नक्सांकन अझै पनि बनाउन सकिएको छैन । बाढीपहिरोबाट हजारौँ जनता विस्थापित हुँदा बल्ल मन्त्रीहरू भने नक्सांकनको काम अन्तिम चरणमा पुगेको भन्दै भाषण गरिरहेका छन् । यो काम विपदअघि नै गर्नुपर्ने हो । 

सुनसरी चतरामा आयोजित विपद्का समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रममा आन्तरिक मामिला मन्त्री केदार कार्कीले जोखिम क्षेत्रको नक्सांकनको काम अन्तिम चरणमा पुगेको बताए । मन्त्री कार्कीले सधैँको वर्षापछि आउने समस्यालाई समाधान गर्न सरकारले बजेटको व्यवस्थापन गरेको बताएका छन् । 

प्रहरीले पनि विपद् तथा उद्धारमा खट्दा चाहिने सामग्रीहरू समेत अभाव रहेको बताउँदै आएको छ । 

उद्धार तथा राहतका लागि खट्दा चाहिने सामग्री नभए पनि जोखिम मोलेर काम गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीन राईले बताए । प्रदेश १ मा उद्धार तथा राहतका लागि तालिम प्राप्त १२५ जना प्रहरी छन् । १४ जिल्लाका लागि झापाको चन्द्रगढीमा गुल्ममा उनीहरूलाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस