विभूषणहरुमा प्रयोग गरिने सुनको परिमाण घटाउने

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १२ : १४
विभूषणहरुमा प्रयोग गरिने सुनको परिमाण घटाउने

काठमाडाैँ  । सरकारले विभूषणहरुमा प्रयोग गरिने सुनको परिमाण घटाउने भएको छ। खर्च कटौती गर्न विभूषणमा प्रयोग गरिने सुनको परिमाण घटाइने भएको हो। सबैभन्दा धेरै नेपाल रत्न विभूषणमा कटौती हुने भएको छ। नेपाल रत्नमा १७५ ग्राम सुन दिने गरेकामा अब ९० ग्राम मात्रै सुन प्रयोग गरिने भएको हो। 

चाँदी र हीराको परिमाण भने कायम नै रहनेछ। नेपाल रत्नमा ४२५ ग्राम चाँदी र ४२ ग्राम हीरा प्रयोग गरिन्छ। राष्ट्र गौरवमा १५ ग्राम सुन घटाइने भएको छ।

यसअघि ४५ ग्राम सुन प्रयोग गर्ने गरिएकामा अब ३० ग्राम मात्रै प्रयोग गरिने छ। चाँदी २४० ग्राम र हीरा ५६ ग्राम कायम रहनेछ। 
राष्ट्रदिपमा पनि सुनको परिणाम कटौती गरिएको छ।महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणीमा १३० ग्राम सुन प्रयोग गरिँदै आएकोमा अब ८५ ग्राम मात्रै प्रयोग गरिने छ। चाँदी एक सय ग्राम कायम छ। 

उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीमा यसअघि ९० ग्राम सुन प्रयोग गरिँदै आएकोमा अब ६० ग्राम मात्रै सुन प्रयोग हुन्छ। चाँदी १५० ग्राम रहनेछ। सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सुन ४५ ग्रामबाट घटाएर ३० ग्राममा झारिएको छ। चाँदी १५० ग्राम कायम हुनेछ। कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी सुन ३५ ग्रामबाट २० ग्राममा घटाइएको छ। चाँदी १५० गम कायम रहनेछ। राष्ट्रदीप प्रथममा यसअघिकै ६ ग्राम सुन कायम रहनेछ भने चाँदी १५० ग्राम रहनेछ। 

जनसेवाश्रीअन्तर्गत सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा १२० ग्रामबाट ८४ ग्राम, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ३५ ग्रामबाट २५ ग्रामा झारिएको छ। आगामी असोज ३ गते संविधान दिवसको अवसरमा विभूषणको घोषणा हुनेछ। 

प्रतिक्रिया दिनुहोस