शोधान्तर घाटा बढ्दै गएको हुँदा आगामी दिन थप कष्टकर हुनसक्ने: शेखर गाेल्छा

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, ११ : ४८
शोधान्तर घाटा बढ्दै गएको हुँदा आगामी दिन थप कष्टकर हुनसक्ने: शेखर गाेल्छा

काठमाडाैँ  । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले शोधान्तर घाटा बढ्दै गएको हुँदा आगामी दिन थप कष्टकर हुनसक्ने बताएका छन्।

विराटनगरमा बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को चौथो प्रदेश सभालाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले बढ्दो शोधान्तर घाटा र विश्व बजारमा बढ्दो मूल्यवृद्धिका कारण नेपाली बजार थप कष्टकर हुने बताएका हुन्।अध्यक्ष गोल्छाले बजारको अवस्था र चुनौतीपूर्ण समयमा सुझबुझका साथ जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कृषि क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिएका अध्यक्ष गोल्छाले मल खरिदको अभावलाई रोक्न निजी क्षेत्रलाई मल खरिद र आयातको अनुमति दिनुपर्ने बताएका थिए।निजी क्षेत्रलाई मल खरिदको अनुमति दिए हाल देखिएको मलको चरम अभावमा कमी आउने उनको भनाइ छ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मलको खरिद र आयातका लागि प्रदेश सरकार सकारात्मक भएको बताए।

मुख्यमन्त्री राईले मुलुकमा मल उद्योग स्थापना गर्न प्रदेश १ को सरकार सहयोग गर्न रहेको बताएका मुख्यमन्त्री राईले भने, ‘हरेक विषयमा टीकाटिप्पणी आलोचना आवश्यक हुँदैन। अहिलेको मूल्यवृद्धि मुलुकले चाहेर भएको होइन। तसर्थ सरकारले नियन्त्रण गर्न सक्ने अवस्थामा छैन।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले सरकारले ल्याएको बजेट कृषि क्षेत्रका लागि सकारात्मक भएको बताए।सरकारले ल्याएको बजेटले आगामी दिनमा सकारात्मक संकेत गर्ने बताएका पूर्व अध्यक्ष ढकालले कृषि उत्पादनलाई वृद्धि गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

स्थानीय स्रोतसाधनबाट उत्पादित उपभोग्य वस्तुको बजारीकरण व्यवस्थित रूपमा हुनुपर्ने उनको भनाइ छ।कार्यक्रममा प्रदेशसभामा प्रदेश १ का १४ जिल्लाका जिल्ला, नगर उद्योग वाणिज्य संघका पदाधिकारीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस