मन्त्री कार्कीद्वारा नदी क्षेत्रको निरीक्षण

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, ११ : ०१
मन्त्री कार्कीद्वारा नदी  क्षेत्रको निरीक्षण

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले शुक्रवार मोरङका नदी कटान क्षेत्रको निरीक्षण गरेका छन् । उच्च सुरक्षा अधिकारीहरूसमेतलाई लिएर धार परिवर्तन गरी बस्तीतर्फ पस्ने खतरा भएका नदीखोलाको निरीक्षण गर्न विभिन्न स्थानमा पुगेका हुन् । 

मन्त्री कार्कीको नेतृत्वमा मोरङको मावा, बक्राहा र चिसाङ खोलाले गरिरहेको कटान हेर्न सरकारी अधिकारीसहितको टोली स्थलगत निरीक्षमा पुगेको हो । ‘कहाँ कसरी कटान भइरहेको छ भन्ने बर्षाकै बेला हेर्दा त्यसको नियन्त्रणमा योजना बनाउन सहज होस् भनेर प्रत्यक्ष निरीक्षण गरेका हौँ,’ मन्त्री उनले, ‘अब सोहीअनुरूप नदीखोला नियन्त्रण गर्न तटबन्ध निर्माण तथा अरु उपायबारे सरकारलाई जानकारी गराउने छौँ ।’

बक्राहा, मावा र चिसाङले पूर्वी र दक्षिणी क्षेत्रमा अधिक बस्ती डुबान गर्ने तथा खेतयोग्य जमिन कटान गर्ने गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालासहितको टोली उर्लाबारी, पथरीशनिश्चरे, रंगेली पुगेर स्थानीय पालिकाका प्रमुख तथा जनप्रतिनिहरूसँग पनि कटान र यसको नियन्त्रणको उपायरबारे छलफल गरेको हो । 

निरीक्षणपछि मन्त्री कार्कीले प्रदेशस्तरबाट हुने तटबन्धन निर्माणको काम यतैबाट र नहुने संघीय तथा स्थानीय सरकारसँगको समन्वयमा अघि बढाइने बताएका छन् । उनले प्रदेश सरकारले राहत चाहिनेहरूलाई तत्कालै सहयोग गर्ने, कटान नियन्त्रणमा थालिहाल्नु पर्ने काम शुरु गर्ने र दीर्घकालिन रूपमा समस्या समाधान गर्न नयाँ खाका बनाउने बताए ।अविरल वर्षासँगै आएको बाढीले मोरङका खोलाहरूमा आएको बाढीले ठूलो आर्थिक नोक्सानी गरेको छ । प्रदेश राजधानी विराटनगर हरेक वर्ष जस्तै योपटक पनि डुबानको चपेटामा परेको छ । 

विराटनगरमा हरेक वर्ष सिंघीया र केशलिया खोलाले दुःख दिने गरेको छ । यसको नियन्त्रणका लागि तटबन्धसहितको करिडोर निर्माणको लागि प्रदेश सरकारले योजना बनाइरहेको आन्तरिक मामिला मन्त्री कार्कीले बताए । उनले भने, ‘प्रदेश सरकारले दुबै खोलाको दुबैतर्फ स्थायी तटबन्धन निर्माण गर्ने र यसलाई ग्रीनबेल्टको रूपमा सिमावर्ती भारतीय क्षेत्रसम्म नै विकास गर्ने योजना बनाएको छ । विस्तृत अध्ययनपछि सरकार आफैले अथवा दाता निकायसँगको सहयोगमा यो काम अघि बढाइने छ ।’

प्रतिक्रिया दिनुहोस