बेरुजु फस्र्यौट गर्न सरकार निरन्तर प्रयत्नशील छ : अर्थमन्त्री शर्मा

सफल खबर संवाददाता

बुधबार, १५ असार २०७९, १७ : ३०
बेरुजु फस्र्यौट गर्न सरकार निरन्तर प्रयत्नशील छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फर्स्यौटलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । महालेखा परीक्षकको ६४ औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नीति तथा कार्यक्रममै बेरुजु फर्स्यौटलाई प्राथमिकतामा राखिएको बताए । अर्थमन्त्री शर्माले भने, ‘सार्वजनिक आर्थिक कारोबार सञ्चालनमा पारदर्शीता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध छ ।’

उनले लेखा परीक्षकहरुबाट प्राप्त सुझावहरु कार्यान्वयन गर्न तथा बेरुजु फर्स्यौट गर्न सरकारले निरन्तर प्रयत्न गरिरहेको समेत बताए । बेरुजु फर्स्यौटका लागि अहिलेसम्म अपनाएका विधि र प्रकृयाका बारेमा समीक्षा गर्नुपर्ने आवश्यकता देखेको समेत उनले बताए । ‘बेरुजु किन बढ्दै गएको छ, कहाँनेर हाम्रो कमी कमजोरी भयो भन्ने कुराको अध्ययन, अनुसन्धान गरेर निराकरण गर्नुपर्ने आवश्यकता छ’ उनले भने ।

संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको लेखा परीक्षण गर्नुपर्ने जिम्मेवारी पूरा गरी वित्तीय व्यवस्थापन चुस्त, दुरुस्त बनाउन पहिले झैं यस वर्षपनि महालेखा परीक्षकबाट सुझाव प्राप्त हुने अर्थमन्त्री शर्माले विश्वास व्यक्त गरे । संविधान र प्रचलित कानुनअनुसार सुशासन कायम गर्न उल्लेखनीय कार्य गरेको भन्दै उनले महालेखा परीक्षक र मातहतका कर्मचारीको प्रशंसा गरे ।

‘सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजस्वतर्फ भएका चुहावट, हिनामिना, न्यूनबिजकीकरण, अनौपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक असर, सार्वजनिक तथा संगठित संस्था सञ्चालनका बिषयहरुमा भने थप ध्यान दिनुपर्ने देखेको छु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस