इसेवा मनी ट्रान्सफर र लुलु इन्टरनेसनल एक्सचेन्जबीच सम्झौता

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १४ : ४३
इसेवा मनी ट्रान्सफर र लुलु इन्टरनेसनल एक्सचेन्जबीच सम्झौता

काठमाडौं । इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको युएई स्थित लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

यस सम्झौता सँगै युएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाह लगायत युएईका सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरुले लुलु इन्टरनेसनल एक्सचेन्जका मार्फत नेपालमा रेमिट्यान्स् पठाउन सकिने भएको कम्पनीले जनाएको छ ।उनीहरूले युएई भरी रहेका लुलुका ८४ वटा शाखा मध्ये कुनै पनि शाखामा  गइ इसेवा मनी ट्रान्सफरको माध्यमबाट नेपाल पैसा पठाउन सक्ने छन् । यसका साथै, लुलु इन्टरनेशनल एक्सचेञ्जको मोबाइल एप  (लुलु मनी) मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्ने छन् ।    

लुलु इन्टरनेशनल एक्सचेञ्जका शाखाबाट नेपालमा पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सिधै रकम पैसा पठाउन सकिनेछ भने  ६० लाख भन्दा बढी प्रयोगकर्ता रहेकोे इसेवा वालेटमा पनि सोझै रकम पठाउन सकिनेछ । 

साथै लुलु इन्टरनेशनल एक्सचेञ्ज हुँदै युएईबाट पठाएको रेमिट्यान्स्, नेपालका अधिकांश ठाउँमा रहेका इसेवा मनी ट्रान्सफरका १२, ००० भन्दा बढी रकम भुक्तानी केन्द्र तथा एक लाखभन्दा बढी इसेवाका क्यास प्वाइन्ट मार्फत पनि रकम झिक्न सकिनेछ ।

यसका साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु.७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ ।

यसैगरि हाल इसेवा मनी ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना चलिरहेको हुनाले युएई स्थित नेपालीहरुले   लुलु इन्टरनेशनल एक्सचेञ्जबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपाल रकम पठाई दैनिक ५ हजार रुपैयाँ तथा बम्परमा ५० हजार रुपैयाँसमेत जित्न सकिनेछ । 

रेमिट्यान्स् भुक्तानी सम्बन्धि सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र लुलु इन्टरनेस्नल एक्सचेन्जका तर्फबाट सहायक प्रमुख थम्पी सुदर्शनले हस्ताक्षर गरेका थिए  । 

प्रतिक्रिया दिनुहोस