प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्छ : अध्यक्ष नेपाल

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, १४ : ३७
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता र कार्यकर्ताहरूलाई सम्पूर्ण ध्यान प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा लगाउन निर्देशन दिएका छन् । उनले अरुको भर नपरी सम्पूर्ण शक्तिका साथ निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् । 

पार्टीको केन्द्रीय परिषद्को प्रथम बैठकलाई काठमाडौंमा सम्बोधन गर्ने क्रममा सोमबार नेपालले वडा तहसम्म पार्टी विस्तार गर्नका लागि लाग्न निर्देशन दिएका हुन् । पार्टीको सम्पूर्ण ध्यान प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा केन्द्रित गर्नुपर्ने भएको छ । अधिकतम सफलता हासिल गर्नका लागि लाग्नुपर्छ, उनले भने, अरुमाथि भरोसा गर्ने नभई आफ्नै शक्तिमा जानुपर्ने भएको छ ।

प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा अहिलेदेखि नै सम्भावित उम्मेदवार खडा गरेर काम थाल्न नेपालले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले सातवटै प्रदेश सभाका निर्वाचन क्षेत्रमा पनि उम्मेदवार तयार पार्न भनेका छन् ।

स्थानीय तह निर्वाचनबाट ६० प्रतिशत वडामा पार्टी संगठन पुगेको दाबी गर्दै नेपालले अबको निर्वाचनसम्म सबै स्थानीय तह र पालिकामा संगठन विस्तार गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस