खानेपानीको आर्सेनिक समस्या समाधानमा समन्वय आवश्यक : मन्त्री चौधरी

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, १२ : २८
खानेपानीको आर्सेनिक समस्या समाधानमा समन्वय आवश्यक : मन्त्री चौधरी

काठमाडौँ । नेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरुमा खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्दै तीनै तहको सरकारबीच सहकार्य गर्नुपर्ने बताएका छन्।

सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा खानेपानी मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदैँ मन्त्री चौधरीले तराईका जिल्लामा खानेपानीमा देखिएको आर्सेनिक समस्या समाधान गर्न तीनै तहको सरकारका बिचमा समन्वय, सहकार्य र सहजीकरण गर्नुपर्ने बताएका हुन्।

उनले संघीय तहबाट कार्यान्वयन हुने योजनाहरु भने आर्सेनिक रहे, नरहेको यकिन गरेर मात्रै बनाइने गरेको बताए।

उनले खानेपानीको गुणस्तर परीक्षणका लागि आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याएको उल्लेख गरे। मन्त्री चौधरीले संघीय खानेपानी कार्यालयहरुमा पानी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने कार्यक्रम पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको जानकारी दिए।

उनले दीर्घकालीन रुपमा आर्सेनिकमुक्त पानीको वितरणका लागि कर्णाली, कोशी, नारायणी, सुनकोशी, मरिण, चतरा लगायतका नदीहरुबाट पानी ल्याई वितरण गर्नका लागि आयोजनाको अध्ययन भइरहेको बताए। उनले सो आयोजना आगामी आर्थिक वर्षबाट नै अगाडि बढाउने योजना रहेको बताए।

प्रतिक्रिया दिनुहोस