मौसमी प्रतिकूलताका कारण उडान प्रभावित

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, ११ : ३८
मौसमी प्रतिकूलताका कारण  उडान प्रभावित

काठमाडौँ  । आन्तरिक उडानको सोमवार बिहानका लागि पूर्वनिर्धारित तालिका मौसमी प्रतिकूलताका कारण प्रभावित भएको छ। विकट गन्तव्यका उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

नेपाल वायुसेवा निगमले भोजपुर र रुकुम तर्फका उडान रद्द गरेको विमानस्थलको आन्तरिकतर्फको कार्यालयले जनाएको छ।

‘लुक्ला उडान ठप्प छ। पोखरातर्फका केही उडान भए पनि बाँकी उडान मौसम खुल्ने प्रतीक्षामा छन्। तारा एयरको आजको एउटा उडान रद्द भएको छ भने नेपाल वायुसेवा निगमको रुकुम र भोजपुर उडान रद्द गरिएको छ,’ विमानस्थलका एक कर्मचारीले भने।

विमानस्थल कार्यालयका अनुसार सोमवार बुद्ध, यती, श्री, सौर्य, गुण, समीट, तारा, सीतालगायत वायुसेवाको १ सय ३५ वटा उडानको तालिका छ।यसरी वर्षाको समयमा मौसमी प्रतिकूलतालाई मध्यनजर गर्दै आन्तरिकतर्फ उडान गर्दै आएका ‍विभिन्न वायुसेवा कम्पनीले आफ्नो आधिकारिक पेज र एपमार्फत पूर्व जानकारी गराउँदै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस