काठमाडाैँ । सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी)ले मैत्रीपूर्ण खेलमा संकटा क्लबमाथि पुनरागमन जित निकालेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा एनआरटीले संकटालाई ३–२ गोल अन्तरले हराएको हो।
एनआरटीको जितमा रञ्जित धिमाल, स्टेफन समीर र दिपेश घलेले एक/एक गोल गरे। संकटाको लागि आशिष सुमन र मोसेसले एक/एक गोल फर्काए।प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने संकटाले लिएको थियो। खेलको १५औं मिनेटमा सुमनले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए।
तर, पहिलो हाफको इन्जुरी समयमा कप्तान रन्जितले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा फर्काए।४७ औं मिनेटमा मोसेसले गोल गर्दै पुनः संकटालाई २–१ को अग्रता दिलाए। तर, ५८औं मिनेटमा समिरले गोल गर्दै एनआरटीलाई २–२ को बराबरीमा ल्याए।
त्यसपछि ६०औं मिनेटमा दिपेशले गोल गर्दै एनआरटीलाई ३–२ को पुनरागमन जित दिलाए। प्रि–सिजन टुर अन्तर्गत मलेसिया र थाइल्याण्ड भ्रमणअघि एनआरटीले संकटासँग मैत्रीपूर्ण खेल खेलेको हो।
एनआरटीले मलेसियामा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्नेछ।टीवाईटी कपमा एनआरटीले मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असार २०७९, १६ : ५४
लेखकबाट थप