काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताएकी छिन् । गोदावरी नगरपालिका–१२ ठेचोस्थित सर्वेश्वर बहुउद्देश्यीय हलको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् , ‘जनता सहमत नभएको भौतिक विकास गर्न हुन्न । विकास जनताका लागि हो भन्ने विषयलाई बुझ्नुपर्छ ।’
ललितपुरका हरेक घरमा पुग्ने सडक कालोपत्र हुनेगरि विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा जनताको चाहनाअनुसार विकासका गतिविधिलाई तीव्र गतिमा अगाडि बढाउने विश्वास दिलाइन् । उनले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारी निकाय नै सक्षम रहेको बताउँदै त्यस्ता निकायको सुविधाको उपयोग गर्न आम जनतालाई आग्रहसमेत गरिन् । मन्त्री भुसालले भनिन्, ‘जिल्ला अस्पतालले राम्रो सेवा दिन्छ, सबै प्रकारको उपचार हुन्छ, यहाँका जनतालाई महँगो निजी अस्पताल जानुपर्ने बाध्यता छैन ।’
कार्यक्रममा बागमती प्रदेश सांसद राजकाजी महर्जनले प्रदेश सरकार र सङ्घीय सांसद भुसालको सहयोगमा निर्माण भएको बहुउद्देश्य हलबाट स्थानीयले महत्वपूर्ण लाभ लिनसक्ने बताए । उनले स्थानीय समुदायको प्रतिनिधिमूलक संस्थाले सम्पूर्ण व्यवस्थापन, मर्मतसम्भार एवं उचित हेरविचार गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असार २०७९, १५ : ३४
लेखकबाट थप