पुस्तकालय क्षेत्रका विद्यमान समस्याको समाधानका लागि समीक्षा गर्न सार्वजनिक र सामुदायिक पुस्तकालयको दोस्रो राष्ट्रिय सम्मेलन यही असार १५ र १६ गते काठमाडौँमा हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रिड नेपाल र जापानी संस्था शान्ति भोलेन्टियर एशोसिएशनको सहकार्यमा हुने उक्त सम्मेलनमा पुस्तकालयबारे गरिएको तथ्याङ्कसहितको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सूचना प्रविधिको विकाससँगै पठन संस्कृतिमा देखिएको कमीप्रति चिन्ता व्यक्त गर्दै रिड नेपालका अध्यक्ष भोला श्रेष्ठले सम्मेलनमा पुस्तकालयको विकास, विस्तार र प्रभावकारिताबारे छलफल गरिने जानकारी दिए । नेपालमा सन् १९९१ मा सोलुखुम्बुको जुनीबेँसीमा पहिलो सामुदायिक पुस्तकालय स्थापना भएको थियो । नेपालमा औपचारिक रूपमा विसं १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरी २०६५ सालदेखि हरेक भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आइएको छ ।
तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सनदपत्र जारी गरेका थिए । हाल देशभर सामुदायिक र सार्वजनिक गरी करिब ५०० पुस्तकालय छन् । हालसम्म संस्थागत (कार्यालयगत) पुस्तकालयको आँकडा र पुस्तकालयको विधागत वर्गीकरण भने गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असार २०७९, १२ : २२
लेखकबाट थप