भन्सार छली ल्याएको चिनी र दाल बाँकेबाट बरामद

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, १६ : १३
भन्सार छली ल्याएको चिनी र दाल बाँकेबाट बरामद

काठमाडौं । भन्सार छली ल्याएको ठूलो परिमाणको चिनी र दाल बाँकेबाट बरामद गरिएको छ। 
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ स्थित नन्दनी मिल परिसरमा भन्सार छली चोरी पैठारीको सामान रहेको विशेष सूचना प्रहरीले पाएको थियो। लगत्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले संयुक्त रूपमा बिहीबार साँझ खानतलासी गरेको हो। 

खानतलासीबाट भण्डारण गरिराखेको अवस्थामा ५० किलोग्राम दरका ५२० बोरा चिनी र ३० किलोग्राम दरका ५१ बोरा बोडीको दाल फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बरामद चिनी र दालको खरिद विक्रीको कुनै कागजात नभएको प्रहरीले जनाएको छ। 

बरामद चिनीको १८ लाख २० हजार र बोडीको दालको मूल्य अन्दाजी १ लाख ७ हजार रहेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 

प्रतिक्रिया दिनुहोस