काठमाडौं । मोरङ उद्योगी व्यवसायीले आर्थिक विधेयक ०७९÷०८० का केही मुद्दा सच्चाउन माग गर्दै विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय मोरङमा प्रदर्शन गरेका छन्।शुक्रबार मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ तथा नेपाल उद्योग परिसंघ प्रदेश १ ले संयुक्त रुपमा कार्यालयमा १ घण्टा विरोध प्रदर्शनी गरेको हो।
आर्थिक विधेयकमा मुख्यतः जिआई वायर्स, वनस्पति घ्यु, सेनेटेरी प्याड उत्पादन गर्ने व्यवसायी धराशयी भएको जनाउँदै मोरङका उद्योगी सडकमा उत्रिएका हुन्।
यससँगै उद्योगीले सरकारले सीमित एक उद्योगलाई फाइदा पुग्ने गरी नीति निर्माण गरेको आरोप लगाउँदै आएका छन्।
मोरङ व्यापार संघका महासचिव अनिल सारडाका अनुसार सरकारले जगदम्बा वायर्सलाई निकट बनाएर अन्य उद्योगीलाई धराशयी बनाउन लागिपरेको आरोप लगाए।महासचिव सारडाले देश सञ्चारसँग भने, ‘सरकारले कुनै एक उद्योगलाई पोसाउने काम भएको छ। एक उद्योगको पक्षमा सरकार गएको छ। सरकारले नीति कार्यक्रम बनाउँदा आउने सकारात्मक र नकारात्मक कुराको मूल्यांकन गर्न सकेन।’
मोरङमा जिआई वायर उत्पादन गर्ने ५ वटा उद्योग छन्। सरकारले जगदम्बालाई मात्र सुविधा दिएर अन्य उद्योगलाई बन्द गर्ने अवस्थामा पुर्याएको महासचिव सारडाको भनाइ छ।
जगदम्बा समूहलाई सरकारले अर्बौं रकमको सुविधा दिएको बताएका महासचिव सारडाले दिएको सुविधाबाट राज्यले आम्दानी भने अपेक्षाभन्दा कम गर्ने बताउँछन्।सरकारको एक उद्योगलाई सहायता गरेसँगै सोही क्षेत्रका ४० वर्ष पुराना उद्योग धराशायी बन्दै गएको उनको आरोप छ।
सरकारको नीतिकै कारण मोरङमा अवस्थित जीआइ वायरका उद्योगीले यसपटक कच्चा पदार्थसमेत आयात नगरेको उनले बताए।मोरङ व्यापार संघका अनुसार ४ वर्षअघि २३ हजार टनसम्म जिआइ वायर भारत निर्यात हुने गरेको थियो। तर, भन्सारदेखि विभिन्न करका कारण गत एक वर्षमा ६ सय टन मात्र वायर भारत निर्यात भएको संघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, १५ : ४८
लेखकबाट थप