नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक रहेको छ: राज्यमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, १४ : ५३
नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक रहेको छ: राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गरेका छन्।

नेपाल उच्च शिक्षाको ठूलो हब हुनसक्ने उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका हुन्।शुक्रबारबाट काठमाडौँमा सुरु भएको ‘कान्तिपुर हिसान एडुफेयर’को उद्घाटन गर्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सेवामूलक व्यवसाय ठानेर अघि बढ्न पनि निजी क्षेत्रलाई सचेत गराए।नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक रहेको भन्दै राज्यमन्त्री श्रेष्ठले त्यमा निजी क्षेत्रले लगानी गर्दा राम्रो हुने बताए।

राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रबाट नेपालमा ठूलो इकोनोमिक एक्टिभिटी हुने भएकाले यसमा लगानी गर्नेहरुको भविष्य राम्रो रहेको पनि दोहाेर्‍याए।

उनले भने, ‘नेपाल पनि हाइएयर एजुकेसनको एउटा हब हुनसक्छ। हाइएयर एजुकेसनमा इन्भेष्ट गरेर एउटा ठूलो इकोनोमिक एक्टिभिटी गर्न सकिन्छ भन्ने त्यो चीजमा सबै लागौँ। यसमा सरकारले सकेन भने प्राइभेट सेक्टरका साथीहरूले आएर युनिभर्सिटी बनाउनु पर्‍याे। हाम्रो मुलुकलाई ११ वटा युनिभर्सिटीले पुग्नेवाला छैन। अर्को २५ वटा युनिभर्सिटी चाहिन्छ भने बरु सरकारले एउटा आधारमा कस्तो युनिभर्सिटी हुने, त्यसका पूर्वाधारहरु के चाहिन्छ? कस्तो किसिमको संस्थाहरूलाई हामीले युनिभर्सिटी दिने हो? यी सबै चिजहरू भएर गयो भने एजुकेसनमा पनि फ्यूचर छ। लगानी गर्ने साथीहरूले शिक्षा र स्वास्थ्यलाई पूरा व्यापार मात्रै नठानेर सेवामूलक व्यवसाय गर्छु भनेर लाग्नुस्। लगानी गर्नुहोस्। यसमा फ्युचर छ।’

राज्यमन्त्री श्रेष्ठले ठूलो लगानी शिक्षा आर्जनका लागि विदेशिन नदिन सरकारले नेपाललाई एजुकेसन हब बनाउने नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न लागेको पनि बताए।४ दिनसम्म चल्ने सो फेयरमा उच्च शिक्षा हासिल गर्नका लागि आवश्यक सन्दर्भ सामग्रीबारे एकै थलोमा बसेर जानकारी पाउने व्यवस्था मिलाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस