उद्योगीद्वारा कर कार्यालय घेराउ

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, १३ : २६
उद्योगीद्वारा कर कार्यालय घेराउ

विराटनगर । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै सडक संघर्षमा उत्रिएका विराटनगरका उद्योगी व्यवसायीले शुक्रबार विराटनगरस्थित आन्तरिक राजश्व कार्यालय घेराउ गरेका छन् । विरोध र्‍याली निकाल्दै ट्राफिक चोकस्थित कर कार्यालय अगाडि भेला भएका उद्योगी व्यवसायीले सीमित उद्योग पोस्न अर्थमन्त्री शर्माले करको दर हेरफेर गरेको आरोप लगाए । 

नेपाल उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले अर्थमन्त्रीसँग आफूहरूले बारम्बार छलफल गरेको सुधार गर्ने भनेर आश्वासन दिएको, तर उद्योगीका माग सम्बोधन नगरिएको बताए । “उद्योग बचाउनुको साटो तीनलाई नष्ट गर्नेगरी नीति ल्याइएको छ । अर्थमन्त्रीले बारम्बार ढाँट्ने काम गर्नुभएको छ,” प्याकुरेलले भने, “हामी सिस्टमको विरोधमा छौँ । प्रवृत्तिको विरोध गरेका हौँ ।” निरन्तर सडक संघर्ष गरिरहेका उद्योगीले आइतबारबाट राजमार्ग ठप्प पार्ने चेतावनी दिएका छन् ।कर कार्यालय अगाडि भएको विरोध सभामा बोल्दै नेपाल उद्योग परिसंघ प्रदेश नम्बर एकका अध्यक्ष भीम घिमिरेले राम्रा आश्वासन दिने, तर त्यसलाई व्यवहारमा कार्यान्वयन नगर्ने प्रवृत्ति अर्थमन्त्रीमा देखिएको बताए । उनले भने, “हामीले काठमाडौं गएर छलफल गर्‍यौँ । माग पूरा हुन्छ भन्नुभयो, तर त्यसपछि पहिले जे थियो त्यही गरियो । हामीलाई मार पार्ने काम गरियो ।” घिमिरेले आफ्ना माग पूरा नहुन्जेल सडक संघर्ष गरिरहने बताए ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले अर्थमन्त्रीले समस्या समाधान गर्नपट्टि लाग्नुभन्दा यसलाई झन् बल्झाउने गरी कदम चालेको बताए । काठमाडौं छलफल गराएर अर्थमन्त्रीले उद्योग र उद्योगी बचाउन काम गर्छु भने पनि नगरेको बताउँदै भने, “हामीलाई झुक्याउने र ढाँट्ने काम भएको छ । अब सडक संघर्षकै बलमा निर्क्योल हुन्छ । हामी पछि हट्दैनौँ ।” रिजालले अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आफूहरूको माग रहेको बताए । 

खासगरी, आर्थिक विधेयकले जीआई वायर, वनस्पति घिउ, खाने तेल, सेनिटरी प्याड तथा यार्न उत्पादन गर्ने उद्योगीलाई ठूलो मर्का परेको भन्दै उद्योगीले सच्याउन माग गर्दै निरन्तर आन्दोलन गरिरहेका छन् । मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन शारडाले सरकार आफैँले उद्योगीलाई सडकमा आउन बाध्य बनाएको बताए । 

उद्योगीको आन्दोलनमा मजदुर सम्बद्ध ट्रेड युनियनहरूले पनि साथ दिएका छन् । विरोधसभामा जिफन्ट प्रदेश एकका अध्यक्ष किशोर धिमालले गठबन्धनको परमादेशको सरकारले उद्योग र मजदुरमारा नीति लिएको बताए ।

यस्तै, समाजवादी ट्रेड युनियनका मोहमत नसरुलले अर्थमन्त्री शर्मा एउटा उद्योगलाई पोस्नका निम्ति ९० करोड रुपैयाँमा बिकेको आरोप लगाउँदै भने, “नत्र यत्रा उद्योगी र मजदुर सडकमा उत्रिँदा किन अर्थमन्त्री चुपचाप लाग्नुभएको छ ।” अर्थमन्त्रीले राजीनामा नदिए आइतबारबाट राजमार्ग बन्द गर्ने आफूहरूको तयारी रहेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस