पाकिस्तानको मानवअधिकार स्थिति चिन्ताजनक

एजेन्सी

बुधबार, ०८ असार २०७९, १३ : १६
पाकिस्तानको मानवअधिकार स्थिति चिन्ताजनक

इस्लामावाद । इमरान खानको नेतृत्वमा पाकिस्तानले विश्वको सबैभन्दा खतरनाक मानवअधिकार उल्लङ्घनकर्ता देशको रूपमा कुख्याति कमाएको प्रतिवेदन सार्वजनि भएको छ । 

सैनिक शासक जनरल परवेज मुसर्रफपछि खान खतरनाक मानवअधिकार उल्लङ्घनकर्ताका रूपमा दरिएका छन् । उनको कार्यकालमा सञ्चारगृह, मानवअधिकार रक्षक समूह र सामाजिक सञ्जालका अभियन्ताहरूलाई दबाउन खोजिएको जस्ट अर्थ न्यूजले जनाएको छ । 

खानले आफ्नो शासनकालमा असन्तुष्ट पक्षको हत्या, पत्रकारलाई कुटपिट र वाक् स्वतन्त्रतामाथि प्रहार गरेका थिए । पाकिस्तानको मानवअधिकार आयोगले यो वर्षको प्रारम्भमा जारी गरेको ‘मान अधिकारको स्थिति प्रतिवेदन २०२१’ मा उक्त वर्ष अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा सबैभन्दा बढी क्षति पुगेको उल्लेख थियो । 

जनताको बोल्ने र मन लागेको काम गर्ने अधिकार खान सरकारले सङ्कुचित तुल्याउनका साथै उनको राजनीतिक दल तहरिक–ए– इन्साफ-(पिटिआई) का कार्यकर्ताले पनि पत्रकाररूमाथि दमन गरेका थिए । पत्रकारलाई धम्की दिएका नौ वटा घटना प्रतिवेदनमा समेटिएको छ ।

प्रतिवेदनअनुसार खान सरकारले सेनासँग मिलेर पत्रकारमाथि निर्मम कदम चालेका थिए । उनी र उनका सहयोगीहरूका अमानवीय गतिविधिले  पाकिस्तानलाई विश्वमा उपहासको पात्र बनाएको छ । धेरै आलोचकलाई बेपत्ता परिएको, असहमति जनाउनेलाई प्रहरी लगाएर दमन गरिएको र सीमान्तकृत वर्ग पनि त्यस्ता अराजक गतिविधिको शिकार भएका थिए । 

पाकिस्तानी मानव अधिकार आयोगले मात्र नभई अमेरिकी विदेश मन्त्रालयले पनि इस्लामावादले गैरकानुनी एवम् स्वच्छाचारी हत्यालाई प्रश्रय दिएको प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसैगरी ह्युमन राइट्स वाचले पनि सरकारी सुरक्षा बल र लडाकु समूहले भयको वातावरण सृजना गरेर नागरिक अधिकार कुण्ठित पारेको प्रतिवेदन निकालेको थियो । -एएनआई