अफगानिस्तानमा गएको भूकम्पमा परी २५० को मृत्यु

एजेन्सी

बुधबार, ०८ असार २०७९, १२ : ५३
अफगानिस्तानमा गएको भूकम्पमा परी २५० को मृत्यु

काठमाडौं । अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् । बुधबार बिहान आएको ६.१ म्याग्निट्युडको भूकम्पले सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ । यस प्रान्तमा ठूलो संख्यामा घर क्षतिग्रस्त भएका छन् ।

सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूमा घाइतेहरू देखिन्छन् । ती तस्बिरहरू पक्तिका प्रान्तका हुन् ।एक स्थानीय अधिकारीले बीबीसीलाई २ सय ५० जनाभन्दा बढीको ज्यान गएको र त्यो संख्या अझै बढ्न सक्ने बताएका छन् । १ सय ५० जनाभन्दा बढी घाइते भएको विवरण आएको छ ।

भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ । मध्यरातपछि भूकम्प आउँदा धेरै मानिसहरू सुतिरहेका थिए ।

अफगानिस्तानबाहेक पाकिस्तान र भारतसम्म पनि उक्त भूकम्पको धक्का महसुस भएको थियो ।अफगान सरकारले उक्त क्षेत्रमा थप विपद् आउन नदिनका लागि तत्काल उद्धार टोली पठाउन दाताहरूलाई अनुरोध गरेको छ ।