त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ एयरलाइन्सको उडान

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, ०७ : ३९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ एयरलाइन्सको उडान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई नेपालीसहित ३४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यीमध्ये नेपालसहित १९ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान गरिरहेका छन् । सबैभन्दा बढी चीनका चार, नेपाल र भारतका समान दुई एयरलाइन्सले उडान भर्दै आएका छन् । 

चीनको एयर चाइना, सिचुवान एयर, चाइना इस्ट्रन, चाइना साउदर्नले उडान गरिरहेका छन् भने भारतको एयर इण्डिया र इण्डिगो एयरले उडान भर्दै आएका छन् । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले हाल भारतका तीनसहित आठ देशका १० गन्तव्यमा उडान भर्दै आएको छ । 

नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले विभिन्न छ देशका छ गन्तव्यमा उडान भर्दै आएको छ । एयर अरेबिया अबुधाबी र एयर अरेबिया सारजाहले उडान भर्दै आएका छन् ।

त्यस्तै जजिरा एयर, कोरियन एयर, मालिन्दो एयर, मलेसिया एयर, कतार एयरवेज, सलाम एयर, सिङ्गापुर एयर, श्रीलङ्कन एयरलाइन्स, टर्किस एयरलाइन्सले उडान भरिरहेका छन् । त्यसैगरी विमान बङ्गलादेश, क्याथी प्यासिफिक एयरवेज लिमिटेट, ड्रक एयरलाइन्स र फ्लाइ दुबईले काठमाडौँ विमानस्थल भएर उडान गरिरहेका छन् । एक महिनाअघि व्यावसायिक सञ्चालनमा आएको भैरहवा विमानस्थलबाट कुवेतको जजीरा एयरले उडान गरिरहेको छ । 

उक्त विमानस्थलमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि चासो देखाएका छन् । नेपालले हाल ४० मुलुकसँग हवाइसेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । टिआइएमा विभिन्न १० हेलिकप्टर कम्पनी छन् ।

प्रतिक्रिया दिनुहोस