यातायात व्यवसायीले बढाए आफूखुसी गाडी भाडा

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १० : ४४
यातायात व्यवसायीले बढाए आफूखुसी गाडी भाडा

पोखरा । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात व्यवसायीले आफूखुसी गाडी भाडावृद्धि गरेका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले आजैदेखि लागू हुने गरी १५ प्रतिशत भाडा बढाएको हो ।

विधानतः पेट्रोलियम पदार्थको मूल्य बढेपछि भाडा समायोजन यातायात व्यवस्था विभागले गर्नुपर्ने हो । तर, व्यवसायी आफैंले सरकारलाई समेत अटेर गरी भाडा बढाएका छन् । कम्पनीका अध्यक्ष योगेन्द्र केसीले सरकारकै कारण भाडा बढाउन बाध्य भएको बताए ।

‘हामीलाई कुनै रहर छैन । यो हाम्रो बाध्यता हो । बजारमा चरम मूल्यवृद्धि छ । यो अवस्थामा गाडी भाडामात्र सस्तो कसरी बनाउन सकिन्छ ?,’ उनले भने, ‘बन्द हड्ताल गर्नुभन्दा भाडा बढाएर यात्रुलाई सेवा दिनु उपयुक्त ठान्यौं । यसबाट परेको असरप्रति क्षमाप्रार्थी छौं ।’

पृथ्वी राजमार्ग कम्पनीबाट चल्ने सबै गाडीमा भाडा बढेको छ । यसअघि चैतमा पनि कम्पनीले आफुखुसी २० प्रतिशत भाडा बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस