महिलाहरुको शिर उच्च पार्ने गरी कार्य सम्पादन गर्छु : मेयर दाहाल

सफल खबर संवाददाता

शनिबार, ०४ असार २०७९, १७ : ३४
महिलाहरुको शिर उच्च पार्ने गरी कार्य सम्पादन गर्छु : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महिलाहरुको शिर नझुक्ने गरी विगतको कार्यकालमा काम गरेको बताएकी छिन ।एसोशियसन अफ मन्टेश्वरी प्रि स्कुल एम्सको दोस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा उल्लेख गरिन्।

अबको कार्यकालमा पनि महिलाहरुको शिर उच्च पार्ने गरी कार्य सम्पादन गर्ने मेयर दाहालले प्रतिवद्धता व्यक्त गरिन्। ‘पहिलो पटक ६ वटा महानगरपालिकामा भरतपुरले मात्र महिला मेयर पाएको थियो’,उनले भनिन् ,‘जे बाचा गरेको थिए, त्यो पुरा गरे । अहिले पनि ६ वटा महानगरमा भरतपुरले मात्र महिला मेयर पाएको छ । तपाईहरुले पनि गर्व गर्नु भएकै छ ।’

मेयर दाहालले दोस्रो पटक मेयरमा भारी मतका साथ निर्वाचित हुने कुरा समान्य नरहेको पनि बताइन ।मेयर पदमा पहिलो पटक निर्वाचित हुँदा भरतपुर अस्पतालमा वृद्धा र महिलाको लागि ओपिडी टिकट निःशूल्क गरेर महिलाको पक्षमा निर्णय गरेको बताइन ।

यस्तै दोस्रो पटक पदभार ग्रहण गर्दा पनि भरतपुरका छोरीलाई १ लाखको निःशूल्क जीवन बिमा तथा ७ हजार लिटरसम्म निःशूल्क खानेपानी उपलब्ध गराउने निर्णय गरेको उल्लेख गरिन् ।

पहिलो कार्यकालको निर्णय अन्य स्थानीय तहले ५ वर्षपछि लागू गरेको भन्दै उनले भरतपुर महानगरपालिका महिलाको पक्षमा महत्वपूर्ण निर्णय गर्दै आएको उनको भनाइ छ ।

मेयर दाहालले महिलाले सञ्चालन गरेका व्यवसायमा पनि महानगरले विषेश सहुलियतको व्यवस्था गर्दै आइरहेकाले मन्टेश्वरीलाई पनि अभिभावकत्व प्रदान गर्न कुनै पनि कसुर बाँकी नराख्ने जिकिर गरिन् ।

एसोशियसन अफ मन्टेश्वरी प्रि स्कुल एम्सका अनुसार जिल्लामा १०० को संख्यामा मन्टेश्वरी छन् । ती मध्ये भरतपुरमा मात्रै ८० वटा छन् । यसमा ९० प्रतिशत महिला सञ्चालक र शिक्षक छन् ।