बलरा नगरपालिकाका पूर्व मेयर सिंह कांग्रेसमा प्रवेश

सफल खबर संवाददाता

शनिबार, ०९ फागुन २०८२, ०९ : ००
बलरा नगरपालिकाका पूर्व मेयर  सिंह कांग्रेसमा प्रवेश

सर्लाही । सर्लाहीको बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

पछिल्लो समय तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता समेत रहेका सिंहलाई गएराति कांग्रेस सभापति गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन् ।

पूर्व मेयर अभयलाई कांग्रेसमा स्वागत गर्नका लागि गएराति केन्द्रीय सभापति गगनसँगै सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंह लगाएतका नेताहरु समेतको उपस्थिती रहेको थियो । सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा भने सिंह राजपाको फुटपछि लोसपाबाट मेयरका प्रत्यासी थिए । तर उनलाई नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारी दिएका रामाशंकर कुशवाहाले पराजित गरे ।

गएराती सिंहकै घरमा कांग्रेस सभापति थापासहितका नेताहरु पुगेर पार्टी प्रवेश गराएका हुन् । सिंहसहित बलरा नगरपालिकाका पूर्व वडाध्यक्ष सुशिल झा लगायतका नेता कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेको बताइएको छ ।

यसअघि सर्लाही ४ नम्बर निर्वाचन क्षेत्र निवासी लोसपाका नेताहरु संविधान सभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्र लगायत दर्जनौ नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस