ऊर्जा बचत गर्न बंगलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने

सफल खबर संवाददाता

शनिबार, ०४ असार २०७९, १६ : १८
ऊर्जा बचत गर्न बंगलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने

ढाका । बंगलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ ।प्रधानमन्त्री शेख हसिनाले बेलुका ८ बजेपछि सबै पसल तथा व्यावसायिक प्रतिष्ठानहरू बन्द गर्न आग्रह गरेकी हुन् । यो नियम देशैभरि लागु गर्न पनि उनले अनुरोध गरेकी छन् ।प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री कार्यालयका महानिर्देशक महमद अहसान किब्रिया सिद्धिकीले शुक्रबार सूचना जारी गर्दै ८ बजेसम्म मात्रै बजार खुला गर्न आग्रह गरेका हुन् ।

ऊर्जा तथा पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले राति ८ बजेपछि पसल तथा बजार बन्द गर्न आग्रह गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।पेट्रोलियम पदार्थको मूल्यवृद्धि विश्वव्यापी समस्याका रूपमा देखिएकाले पेट्रोलियम पदार्थको बचतका लागि विभिन्न देशमा विभिन्न उपायहरू अपनाउने गरिएको छ । पेट्रोलियम पदार्थको अभावका कारण मूल्यवृद्धि समेत हुने गरेकाले त्यसको नियन्त्रणका लागि पनि यसको प्रयोग कम गर्नुपरेको हो ।

बेलुका चाँडै बजार बन्द गर्दा विद्युत् तथा पेट्रोलियम पदार्थको खपत घट्ने र व्यापार घाटा पनि कम हुने अपेक्षा सरकारले गरेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस