काठमाडौं । बुधबारदेखि मतदाता नामावली संकलनको कार्य पुनः सञ्चालन गरिएको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी निर्वाचन आयोगले नामावली संकलनको कार्य संचालन गर्न लागेको हो ।
यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकहरुले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आ–आफ्नो नाम दर्ता गराउन सक्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिर्वतन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन पनिसम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यसैगरी आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् । चुनावको घोषणा भएपछि मतदाता नामावली संकलनको कार्य रोकिने भएकाले छिटो गर्न पनि आयोगले भनेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, ०७ : २३
लेखकबाट थप