किसानलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्छ : अर्थमन्त्री शर्मा

सफल खबर संवाददाता

आइतबार, २२ जेठ २०७९, १९ : ४६
किसानलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताएका छन् । आइतबार नेपाल कृषि मेशिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताए ।

उनले किसानहरु हेपिएर देश बन्न नसक्ने भन्दै किसानहरुले दुखेसो गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताए । उनले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय संकल्प र त्यसप्रकारको नीतिको अभाव रहेको बताए ।

मन्त्री शर्माले किसानलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिए । उनले कृषि क्षेत्रलाई प्रवद्र्धन गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताए ।

उनले भने, ‘कृषि क्षेत्रलाई माया पनि गर्नुप¥यो । सम्मान पनि गर्नुप¥यो । त्यसको सही परिचालन पनि गर्नुप¥यो । किसानहरु हेपिएर देश बन्दैन । कृषिमा काम गर्नेहरुले दुखेसो गर्ने अवस्था आयो भने हामी राष्ट्रलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन सक्दैनौँ । आजको विश्वको ठुलो समस्या भनेकै खाद्यको समस्या हो । हामीसँग हामीलाई पुग्न सक्ने धान उत्पादन गर्न सक्ने हामीसँग खेतहरु छन् पर्याप्त मात्रामा । तरकारी उत्पादन गर्ने बारीहरु छन् ।’

उनले थपे, ‘हामीलाई पुग्ने फलफूल रोप्ने बारीहरु, पाखाहरु छन् । हामीसँग कमी छैन । जनशक्तिको समस्या हामीलाई होइन । ठुलो जनशक्ति आज विभिन्न मुलुकहरुमा पठाइरहेका छौँ । अभाव हाम्रो एउटा राष्ट्रिय संकल्पको अभाव, नीतिको अभाव, त्यो खालको कार्यक्रमको अभाव हो । त्यो खालका कार्यक्रम सञ्चालन गर्ने संस्थाहरुको क्षमताको अभाव हो । र किसानहरुलाई प्रोत्साहित गर्ने, सम्मान गर्ने, आदर गर्ने संस्कारको, मुल्यमान्यताको अभाव हो । सबै कुरालाई हामीले अब हटाएर कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्छ । उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्छ ।’

अर्थमन्त्री शर्माले नेपालमा आवश्यक कृषि मेशिनरी नेपालमै उत्पादन गर्नुपर्ने बताए । कृषि मेशिनरी उद्योग खोल्न आग्रह गर्दै उनले आवश्यक कच्चा पद्धार्थहरुमा पर्याप्त भन्सार छुट दिइने बताए ।

उनले भने, ‘अब त कोदालाका बिड पनि बाहिरबाट आउन थाल्यो । त्यो चाहीँ अब हुँदैन । बिड बनाउनुस् बाहिरबाट आउनुभएन । कुटा यही बनाऔँ बाहिरबाट आउनुभएन । कोदाला यही बनाऔँ बाहिरबाट आउनुभएन । मेशिनरी बनाउनुपनि प¥यो ।’

उनले फेरि भने, ‘यो माग नगर्नुस् कि हामी सबै बाहिरबाट ल्याउनुपर्छ भन्ने माग गर्नुभयो भने हाम्रो कुरा मिल्दैन । हामी बनाउँछौ भन्नुस् । उद्योगहरु सञ्चालन गरौँ । कच्चा पद्धार्थमा तपाईहरुलाई पर्याप्त छुट हुन्छ । भन्सार लाग्दैन ।’

उनले कृषिमा उत्पादकत्व बृद्धिका लागि मलको आपूर्ति, प्रविधिहरुको हस्तान्तरण र सिचाइको व्यवस्था लगायतका कामहरुलाई एकीकृत गरी लैजानु आवश्यक रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस