चितवनको रत्ननगर अस्पतालमा आइतबार पनि बहिरङ्ग सेवा

सफल खबर संवाददाता

शनिबार, २१ जेठ २०७९, ११ : ३३
चितवनको रत्ननगर अस्पतालमा आइतबार पनि बहिरङ्ग सेवा

चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले बहिरङ्ग सेवा आइतबार पनि नियमित सञ्चालन गर्ने भएको छ । लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आइतबार पनि बहिरङ्ग सेवा नियमित गरिएको हो । 

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले सातामा दुई दिन बिदा हुँदा सोमबार एकै दिन बिरामीको चाप बढेकाले आइतबार पनि बहिरङ्ग सेवा दिन लागिएको जानकारी दिए । उनले भने, ‘बिरामीको चाप दिनदिनै बढ्दो छ, सेवा अवधि घटाउँदा झन धेरै चाप पर्‍यो ।’

अस्पतालले एक सूचना प्रकाशित गरी आइतबारको दिनसमेत  बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको हो । यही जेठ २२ गतेबाट यो नियम लागू हुने जनाइएको छ ।

सूचनामा अस्पतालको शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको उल्लेख छ । सरकारले वैशाख २६ गतेको राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस