आईपीएल : कोलकातालाई १३ रनले हराउँदै हैदराबाद फाइनलमा

शनिबार, १२ जेठ २०७५, ०८ : ४३
आईपीएल : कोलकातालाई १३ रनले हराउँदै हैदराबाद फाइनलमा

सनराइर्जस हैदराबाद र चेन्नई सुपर किङ्सबीच इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधिका लागि भिड्ने भएका छन् । कोलकाता नाइट राइडर्सलाई शुक्रबार १३ रनले हराउँदै हैदराबादले चेन्नईसँगको भेट पक्का गरेको हो । क्वालिफायर १ मा हैदराबादलाई हराउँदै चेन्नई यसअघि नै फाइनल पुगेको थियो ।

१ सय ७५ रनको लक्ष्य पछ्याएको कोलकातालाई २० ओभरमा ९ विकेटको क्षेतिमा १ सय ६१ रनमा रोक्दै हैदराबादले जित निकालेको छ । जितका लागि अन्तिम ओभरमा कोलकातालाई १९ रनको आवश्यकता थियो । त्यस्तोमा कालोर्स बर्थवेटले २ विकेट लिएपछि कोलकाता लक्ष्यमा पुग्न सकेन ।

कोलकाताका लागि क्रिस लेन र सुनिल नारिनले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । लेनले ३१ बलमा ६ चोका र २ छक्काका साथ सर्वाधिक ४८ रन बनाएका थिए । सुभम गिलले ३०, सुनिल नारिनले २६, नितेश रानाले २२, पियुष चावलाखले १२ रन बनाएका थिए । हैदराबादका लागि बर्थवेटबाहेक रसिद खानले ३, सिद्धार्थ कौलले २ र सकिब अल हसनले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर आज पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनाएको छ । पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेपनि हैदराबादले त्यसलाई निरन्तरता दिन भने सकेन । तर, खेलको अन्त्यतिर रसिद खानको उच्च प्रदर्शनले हैदराबादले सम्मानजनक स्कोर बनाएको थियो ।

रसिदले अविजित ३४ रनको योगदान गरे । १० बलमा उनले ४ छक्का र २ चौका प्रहार गरे । ओपनर ऋद्दिमन शाहले ३५ र अर्का ओपनर शिखर धवनले ३४ रन जोडे । सकिब अल हसनले २८ र दीपक हुड्डाले १९ रन जोडे । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोलकाताका कुलदिप यादवले २, शिवम माभी, सुनिल नारिन र पियुष चावलाले समान १ विकेट लिए । हैदराबादका सकिब र कालोर्स ब्रर्थवाइट रन आउट भएका थिए । आइपिएल फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस