जहाज दुर्घटनामा मृत्यु भएकाहरुको थप शव आज काठमाडौं ल्याइने

सफल खबर संवाददाता

मंगलबार, १७ जेठ २०७९, ०७ : २१
जहाज दुर्घटनामा मृत्यु भएकाहरुको थप शव आज काठमाडौं ल्याइने

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरुको बाँकी शव मंगलबार काठमाडौं ल्याइने भएको छ ।

यसअघि सोमबार १० जनाको शव काठमाडौँ ल्याइएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा १० जनाको शव काठमाडौँमा ल्याइएको हो । 

११ वटा शव अहिले घटनास्थलमै रहेको र मौसममा सुधार आएपछि काठमाडौँ ल्याइने उद्धार टोलीले जनाएको छ । 

प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । 

भेटिएका शव सनाखत गर्न बाँकी छ । समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेको बताइएको छ ।

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए । 

पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।

जहाजमा चालक दलका तीनजना सदस्य, १२ जना नेपाली, चारजना भारतीय र दुईजना जर्मनी नागरिकसहित २२ जना सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस