निजगढ विमानस्थल सम्बन्धि सर्वोच्चको फैसला अविवेकी निर्णय भएको रामचन्द्र पौडेलको आरोप

सफल खबर संवाददाता

शनिबार, १४ जेठ २०७९, १४ : ०८
निजगढ विमानस्थल सम्बन्धि सर्वोच्चको फैसला अविवेकी निर्णय भएको रामचन्द्र पौडेलको आरोप

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसलालाई अविवेकी निर्णयको संज्ञा दिएका छन । 

वरिष्ठ नेता पौडेलले अदालतले गरेका कतिपय अविवेकी निर्णयले देश विकासमा अवरोध भएको र सर्वोच्च अदालतको निजगढ विमानस्थल सम्बन्धि निर्णय पनि त्यसकै नमूना भएको आरोप लगाए । उनले निजगढ विमानस्थल बनाउने कुरामा रोक लगाउने निर्णयमाथि अदालतले पुनरावलोकन गर्नुपर्ने बताए ।

सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले निजगढ विमानस्थल बनाउनका लागि सरकारले अर्बौं रुपैयाँ खर्च गरिसकेको र साथमा काठमाडौंलाई मधेससँग जोड्ने द्रुतमार्ग समेत बनिरहेको भन्दै निजगढ विमानस्थलको अर्को विकल्प निजगढ नै भएको बताए।

वरिष्ठ नेता पौडेलले काठमाडौंको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तम विकल्प निजगढ विमानस्थल बाहेक अन्य हुन नसक्ने जिकिर गरे । उनले निजगढ विमानस्थल बनाएपछि काठमाडौंको एयर ट्राफिकमा भएको समस्या पनि समाधान हुने बताए ।

उनले सर्वोच्चले सिमित व्यक्तिहरुले दिएको निवेदनको आधारमा विमानस्थल बनाउन रोक लगाएको आरोप लगाए ।वरिष्ठ नेता पौडेलले सर्वोच्चले गरेको निर्णय वास्तविकतामाथि मेल नखाएको भन्दै फैसला गर्ने न्यायाधीशहरुलाई विमानस्थलको प्रत्यक्ष अवलोकन गर्न आग्रह गरे । उनले केही ब्यूरोकेसीहरुले वातावरण मासिने नाउँमा विमानस्थल नबनाउन चलखेल गरिरहेको आरोपसमेत लगाए ।

वरिष्ठ नेता पौडेलले विमानस्थल बनाउने भनिएको स्थानमा बाँकी रहेको जंगललाई जोगाउन सरकार सक्रिय रहनुपर्ने बताए। उनले सर्वोच्च अदालतले गरेको यो निर्णयले देशको विकासको बाटोमा ठूलो अफ्ठ्यारो पार्ने र यस्ता निर्णय हुने हो भने सरकारले काम गर्न नपाउने बताए । 

प्रतिक्रिया दिनुहोस