महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान हो : मन्त्री भुसाल

सफल खबर संवाददाता

शनिबार, १४ जेठ २०७९, १३ : ३१
महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान हो : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान भएको  बताएकी छन् । अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्सपोज नेपालले आज यहाँ आयोजना गरेको जनचेतनामूलक साइकल यात्रा समापन गर्दै उनले विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको उल्लेख गरिन् ।

मन्त्री भुसालले महिलाको स्वास्थ्यमा सबै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् । ‘महिलाको जैविक बनावटको सम्मान गरौँ, महिला स्वास्थ्यका विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक छ’, उनले भनिन्, “यो गर्वको कुरो हो तर पाप र अपराध होइन, महिलाको मातृत्व क्षमताको पहिचान हो ।” मन्त्री भुसालले महिनावारीका समयमा महिलालाई सफा र स्वच्छ राख्नुपर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुनः प्रयोग गर्न मिल्ने प्याड  प्रयोग गर्नुपर्नेमा जोड दिइन् । 

उनले समाज विकासका क्रममा महिलाका विषयमा पनि चेतनास्तर बढ्दै गएकाले अबका दिनमा चेतनास्तर प्रबर्द्धन गर्दै जानुपर्ने  आवश्यकता औंल्याइन्। आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले नेपाली महिला महिनावारीका समयमा विभेदको सिकार हुने भएकाले महिनावारी हुँदा गरिने विभेद हटाउन सके हिंसा न्यूनीकरण हुने बताइन् ।

बिहान वसन्तपुरबाट सुरु भएको साइकल र्याली जमल, दरबारमार्ग, पुतलीसडक, अनामनगर, बिजुली बजार, माइतीघर मण्डला, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मङ्गल बजारस्थित दरबार स्क्वायर पुगेर समापन गरिएको थियो । र्‍यालीमा ३०० भन्दाबढी व्यावसायिक साइकल यात्रीको सहभागिता थियो ।