स्थानीय तह निर्वाचन

जित सुनिश्चित भएपछि बालेनले भने– घोषणापत्रमा भएका कुरा लागु गर्न सकेको दिन विजय उत्सव मनाउँला

सफल खबर संवाददाता

बुधबार, ११ जेठ २०७९, ११ : ३७
जित सुनिश्चित भएपछि बालेनले भने– घोषणापत्रमा भएका कुरा लागु गर्न सकेको दिन विजय उत्सव मनाउँला

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह)को जित सुनिश्चित भएको छ । जित सुनिश्चित भएसँगै उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउने बताएका छन् । 

जित–हारलाई मतगणना सकिएसँगै बिर्सिन र विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगर्न उनले आग्रह पनि गरेका छन् । बालेनको अग्रताभन्दा गन्न बाँकी रहेको मत कम भएपछि उनको जित सुनिश्चि भएको हो । 

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार बालेनले ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् । 

बालेन र निकटतम प्रतिस्पर्धी सिर्जनाबीचको मतान्तर २० हजार ३७६ रहेको छ । काठमाडौं महानगरमा अब गणना गर्न बाँकी रहेको मत मात्र १९ हजार ३२३ रहेको छ । मतगणना गर्न बाँकी रहेको मतमध्ये एक मत पनि बालेनको पक्षमा नआए पनि उनले जित्नेछन् ।
आफ्नो जित सुनिश्चित भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले विजयी जुलुस ननिकाल्ने र घोषणापत्रमा समेटिएको विषय लागु गरेको दिन सबै मिलेर विजय उत्सव मनाउने बताएका हुन् । 

बालेनले फेसबुकमा लेखेका छन् :

स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुदैन ।

जित–हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ । 

यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । हाम्रो स्वयमको पनि बढिमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नु भएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।

दोस्रो, ठाउँठाउँबाट र्‍यालीका लागि काठमाण्डौँ आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौँ । हाम्रो अनुरोध के हुन्छ भने तपाईहरु कोही पनि र्‍यालीका लागि काठमाडाैं आउने दुख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ । 

अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाई रहेकै क्षेत्रमा ’धन्यवाद र्‍याली’ गर्नु होला । त्यसले सो स्थानमा बढि प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ’बालेन’हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ  । 

अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ । हामीले हिड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ । 

हामीलाई साथ र सुझाब जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको ऊर्जाको लागि हामी सँधै तपाईहरुसँग जोडिरहेका हुन्छौँ । तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ ।

अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ । हरेक टोलटोल र गाउँगाउँमा ’बालेन’हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् । अबको हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडि बढौँ ।
 

प्रतिक्रिया दिनुहोस