स्थानीय तह निर्वाचन

आफ्नै गृहजिल्लामा ओलीलाई लिङ्देनको शालीन प्रतिवाद

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, १३ : २७
आफ्नै गृहजिल्लामा ओलीलाई लिङ्देनको शालीन प्रतिवाद

काठमाडौं । झापा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्न्द्र लिङ्देनको गृहजिल्ला हो । २०७४ सालको प्रतिनिधिसभामा एमाले र राप्रपाबीच तालमेल गरिएको थियो । जस कारण ओली र लिङ्देन दुवै विजयी हुन सफल भए । तर, स्थानीय तह निर्वाचन २०७९ सम्म आइपुग्दा दुवै प्रतिस्पर्धीको रुपमा चुनावी मैदानमा उत्रिए । 

कमल थापालाई पराजित गरेर पार्टी अध्यक्षमा निर्वाचित भएका लिङ्देनलाई आफ्नै जिल्लाको स्थानीय तहमा राप्रपा उम्मेदवारलाई जिताउनु चुनौती थियो । पार्टी नेतृत्व सम्हालेदेखि ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो’ भन्दै देशदौडाहामा निस्केका लिङ्देन र दुई पटक प्रधानमन्त्री भइसकेको र पार्टी नेतृत्वमा रहेका ओलीबीच प्रतिष्ठाकै प्रतिस्पर्धा देखिन्थ्यो, झापामा । 

निर्वाचनमा देशभर कांग्रेस र एमाले आमनेसामने भए । कांग्रेससहितको गठबन्धनविरुद्ध एमाले लड्यो । तर, लिङ्देन नेतृत्त्वको राप्रपालाई कचनकवलमा हराउन एमालेले कांग्रेससँग गठबन्धन गर्‍यो । लिङ्देनको निर्वाचन क्षेत्र अन्तर्गतको र यसअघि राप्रपाले जितेको कचनकवलमा हराउन कांग्रेस र एमालेले गठबन्धन गरे । एमालेसँग भएको गठबन्धनका कारण कचनकवलमा ६ हजार ६६७ मत ल्याएका राप्रपाका अन्जार आलमलाई पराजित गर्दै कांग्रेसका कालेन्द्रप्रसादसिंह राजवंशी ११ हजार ४५७ मत ल्याएर निर्वाचित भए । 

तर, अध्यक्ष ओलीले एमालेले हराउन नसक्ने दिएको अभिव्यक्तिको ओलीकै गृहनगर दमक र हल्दिबारीमा राप्रपाले जितेको छ । राप्रपा अध्यक्ष लिङ्देनले कांग्रेसको महाधिवेशनका क्रममा मञ्च तर्फ हेर्दै मञ्चमा बसेका नेता मात्रै सुध्रने हो भने देश सुध्रन्छ, नेताका प्रति जनताको दृष्टिकोण सकारात्मक छैन, गाउँमा नेता आउँदा कुन चोर आएछ भन्ने अवस्था छ भनेको विषयलाई ओलीले आफूमाथिको प्रहारको रुपमा बुझेका थिए ।

आफ्नो बोल्ने क्रममा लिङ्देनलाई संकेत गर्दै ओलीले भर्खर जन्मेको बाच्छो हिड्न जान्दैन भनेर कटाक्ष गरे । लिङ्देन त्यसपछि पार्टीको सयभन्दा बढी सभाहरूमा पुगे, पद्धति र प्रणालीबारे चर्काे भाषण दिए । तर, ओलीको आलोचना गरेनन् । ओली-लिङ्देनको दूरी राष्ट्रिय सभाको निर्वाचनताका झनै बढ्न गयो । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नं १ मा राप्रपासँग ओलीको निशर्त सहयोगको आशा थियो, लिङ्देनले आफ्नो पार्टीका दुईजना उम्मेदवार उठाइदिए । जसका कारण एमालेले दुई सिट गुमाउन पुग्यो ।

चुनावी सभाको क्रममा लिङ्देनले मतदान गर्ने हल्दिबारी गाउँपालिका- १ गोलधापमा ओली सम्बोधन गर्न पुगे, जसको उद्देश्य लिङ्देनलाई  तर्साउनु रहेको राप्रपाले बुझेकाे थियाे । ओलीले हल्दिबारीमा गरेको मिहिनेत खेर गयो, लिङ्देनको राप्रपाले हल्दिबारी गाउँपालिकामा प्यानलसहित वडा मात्र जितेन, अध्यक्ष, उपाध्यक्षसहित बहुमत सदस्य जित्न सकेको छ । लिङ्देन र राप्रपाले ओलीको गृहपालिका दमक नगरपालिका समेत जितेर ओलीले गरेको अपमानको शालीन प्रतिवाद गरेको छ ।

चुनावी तयारीका क्रममा झापामा विभिन्‍‌न स्थानमा भएका कार्यक्रममा ओलीले एमालेलाई कसैले हराउन नसक्ने दाबी गरेका थिए ।  राप्रपासहित सबै दल मिलेर आए पनि एमालेले जित्ने ओलीले दाबी गरेका थिए । ओलीले लिङ्देनको वडा हल्दिबारीमा–१ मा पुगेर सभा गर्दै राप्रपालाई कडा चुनौती दिएका थिए । तर, ओलीकै गृहनगर दमक र लिङ्देनको वडामा राप्रपाका उम्मेदवारसँग एमालेका उम्मेदवार पराजित हुन पुगे ।  

ओलीको गृहनगर दमक नगरपालिकाको मेयरमा एमाले उम्मेदवार गीताकुमार पौडेल अधिकारीलाई पराजित गर्दै राप्रपाका रामकुमार थापा निर्वाचित भए । थापाले १७ हजार ५२५ मत ल्याएर निर्वाचित हुँदा एमाले उम्मेदवार गीताकुमारीले १६ हजार ९६६ मत पाएर अपराजित भइन् ।