आईपीएल : सनराइजर्स हैदराबादलाई २ विकेटले हराउँदै चेन्नई फाइनलमा

बुधबार, ०९ जेठ २०७५, ०८ : ५४
आईपीएल : सनराइजर्स हैदराबादलाई २ विकेटले हराउँदै चेन्नई फाइनलमा

चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ । क्वालिफायर्समा सनराइजर्स हैदराबादलाई मंगलबार २ विकेटले हराउँदै चेन्नईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । मुम्बईस्थित वाङखडे रंगशालामा हैदरावादले दिएको १४० रनको लक्ष्य चेन्नईले १९ ओभर १ बलमा ८ विकेट गुमाएर पुरा गर्यो । चेन्नईको जितमा फाप डु प्लेसीसले अविजित ६७ रनको योगदान दिए ।

त्यस्तै सुरेश रैनाले २२, शार्दुल ठाकुरले अविजित १५ रन जोड्दा दिपक चाहरले १० रन जोडे । हैदरावादका सन्दिप शर्मा,सिदार्थ कउल र राशिद खानले समान २ – २ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १३९ रन जोडेको थियो । हैदरावादका कार्लोस ब्रेथवेइटले अविजित ४३ रन जोडे । यस्तै कप्तान केन विलियनसन् र युसुफ पठानले समान २४ – २४ रन जोड्दा श्रीभाट गोस्वामी र साकीब अल हसनले समान १२ – १२ रन जोडेका थिए । चेन्नईका ड्यान ब्राभोले २ विकेट लिए ।

अब चेन्नईले फाइनलमा दोस्रो क्वालिफायरको बिजेतासँग खेल्नेछ । यता, हैदरावादले भने फाइनल प्रवेशका लागि पुन दोस्रो क्वालिफायर खेल्न पाउने छ । हैदरावादले बुधबार हुने इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउने छ । इलिमिनेटरमा राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीच खेल हुनेछ । इलिमिनेटर विजेताले दोस्रो क्वालिफायरमा हैदरावादसंगको भेट पक्का गर्ने छ ।  दोस्रो क्वालिफायरको विजेताले फाइनलमा चेन्नईसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस