ओलीप्रति जनताको विश्वास र भरोसा टुट्यो : महामन्त्री शर्मा

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १६ : ५५
ओलीप्रति जनताको विश्वास र भरोसा टुट्यो : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले ०७४ सालको जस्तो नरहेको बताएका छन् । उनले ०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो भएजस्तो यसपटक सहज नभएको बताए । यद्यपि, त्यो बेला कांग्रेस दोस्रो भए पनि एमालेसँग ठूलो फरक नरहेको बताए । 

गृह जिल्ला झापाको दमकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले २९३ स्थानीय तह जित्दा कांग्रेसले २६६ स्थानीय तह जितेको बताए । ‘२७ वटा स्थानीय तहको फरकमा मात्र कम जितेर दोस्रो भएको हो । कांग्रेस त्यो बेला पनि कमजोर थिएन । एमाले त्यो बेलाको जस्तो छैन,’ उनले भने, ‘त्यो बेला एमालेलाई तीन-तीन जना पूर्वप्रधानमन्त्रीको साथ थियो । झलनाथ खनाल र माधव नेपाल अहिले हुनुहुन्न । पूर्वउपप्रधामन्त्री वामदेव गौतम पनि हुनुहुन्न । अहिले केपी ओली एक जना मात्र हुनुहुन्छ ।’ उनले एमाले ठूलो भएर उसका विरुद्ध तालमेल नभएको बताए । उनले ओलीको अंकारविरुद्ध पाँच दलीय गठबन्धन बनेको बताए । 

महामन्त्री शर्माले ओलीप्रति जनताको विश्वास र भरोसा टुटेको बताए । ‘मलाई एमाले कार्यकर्ताले भन्नु भएको छ । हामी हिजो जुन ऊर्जामा थियौँ, आज मुर्जाएका छौँ । हिजो जुन जाँगर थियो । आज सिथिल भएको अवस्था छ । जनताका सामुन्य जवाफ दिन नसक्ने गरी प्रश्नहरू हामी माँझ छन् भनेर एमाले कार्यकर्ता भनिरहेका छन्,’ उनले भने, ‘दमकलाई के आग्रह गर्न चहान्छु भने प्रश्न चुनाव जित्ने मात्र हैन । तपाईंले यो बेलामा दमकले तेर्साउने पर्ने धेरै प्रश्न छन् । यो बेला जनताले सोच्नुपर्छ ।’

महामन्त्री शर्माले ओलीको नेतृत्वमा स्थिरताको नारा दिएर माओवादीसँग एकता गरेको भन्दै अहिले स्थिरता कहाँ गयो ? भन्दै प्रश्न गरे । ‘दुई वटा कम्युनिस्ट पार्टी गाँसिँदा नेपालको कम्युनिस्ट आन्दोलनले नेपालको मुहार बदल्ने छ भनेर कम्युनिस्ट कार्यकर्ताले देखेको सपना अहिले कहाँ छ ?,’ उनले भने, ‘हिजो प्रधानमन्त्री बनाउँदा देखाइएको समृद्धिको सपना कहाँ छ ? हिजो ओलीमाथि गरिएका भरोसा कहाँ छ ।’ 

 

प्रतिक्रिया दिनुहोस