प्रदेश राजधानी डडेल्धुरामा ल्याउने देउवाको उद्घोष

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १६ : ५१
प्रदेश राजधानी डडेल्धुरामा ल्याउने देउवाको उद्घोष

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी डडेल्धुरा सार्ने उद्घोष गरेका छन। मंगलबार डडेल्धुरामा आयोजित चुनावी आमसभामा बोल्दै प्रधानमन्त्री देउवाले डडेल्धुरामा प्रदेशको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

‘स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनुस्, डडेल्धुरामा पूर्वाधार बनाउनुस्,’ उनले भने, ‘सुदूरपश्चिमको प्रदेश राजधानी पहाडको केन्द्र डडेल्धुरामा ल्याउने जिम्मेवारी मेरो भयो ।’

प्रधानमन्त्री देउवाले बुद्ध पूर्णिमाका दिन लुम्बिनी आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पश्चिम सेतीको सम्झौता र पञ्चेश्वरको प्रक्रिया अगाडी बढाउने पनि बताए।देउवाले आफूले बोलेका बाचाहरू पुरा हुँदै गएको र जनताका मागलाई बजेटमार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

आफ्नो नेतृत्वमा सरकार गठन भएको नौ महिना मात्र भएको स्मरण गराउँदै उनले डडेल्धुरामा विमानस्थल, बसपार्क, राजमार्ग सुधार, ग्रामीण सडकहरू कालोपत्रे गर्नेदेखि मेडिकल कलेज बनाउन आफू लागि पर्ने बताए।

२०७४ निर्वाचनपछि पहिलो पटक औपचारिक कार्यक्रममा आएका प्रधानमन्त्री देउवाले देशको राजनीति, सत्ता गठबन्धन र चुनावी गठबन्धनका बारेमा बोलेनन् ।मौन अवधिको अघिल्लो दिन सम्पन्न चुनावी आमसभा कार्यक्रममा पूर्वमन्त्री बीरबहादुर बलायरले केहीले कांग्रेस छाड्दैमा फरक नपर्ने बताउँदै ८८ वटै स्थानीय तहमा कांग्रेस जित्ने दाबी गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदश्य तथा पूर्व नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले दुई महिनाभित्रै पश्चिम सेतीको प्रक्रिया अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस