'अरु कुरा गर्छन्, हामी काम गर्छौं’ : सभापति देउवा

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १३ : २८
'अरु कुरा गर्छन्, हामी काम गर्छौं’ : सभापति देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई भोट माग्दै आफूहरु जे भन्छौं त्यो पूरा गरेर छाड्ने बताएका छन् । मंगलबार एक अपिल जारी गर्दै उनले कांग्रेसले जे भन्छ त्यो पूरा गर्ने र मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा नपार्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयनमा फेरि एकपटक ईटा थप्ने अवसर कांग्रेसलाई प्राप्त भएको भन्दै देउवाले स्थानीय तह निर्वाचनमा मत व्यक्त गर्दा ध्यान दिन मतदातालाई अपिल गरेका छन् । लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि उपयुक्त पात्रलाई राजनीतिको बागडोर जिम्मा लगाउने अधिकार मतदाताको हातमा आएको उनको भनाइ छ । ‘अरु कुरा गर्छन्, हामी काम गर्छौं’ । ‘सबल स्थानीय सरकार:समुन्नत गाउँ, समुन्नत नगर’ हाम्रो मूलमन्त्र हो’ देउवाले भनेका छन् ।

उनले संविधान सभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दा कांग्रेसले संविधानको रक्षा गरेको दावी गरे । यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको भन्दै देउवाले भने, ‘यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्थाबारे तपाईं हामी सबै जानकार नै छौं ।’

प्रतिक्रिया दिनुहोस