परिपक्वता र कार्यकुशलताका आधारमा सिंहलाई आईजीपी बनाइएको होः गृहसचिव पाण्डे

सफल खबर संवाददाता

सोमबार, १९ बैशाख २०७९, १४ : १९
परिपक्वता र कार्यकुशलताका आधारमा सिंहलाई आईजीपी बनाइएको होः गृहसचिव पाण्डे

काठमाडौं । गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन्।

सोमबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशष्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताएका हुन्।उनले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए पनि प्रचलित कानुन प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरुप नै महानिरीक्षकमा बढुवा गरिएको दाबी गरे।

सचिव पाण्डेले एआईजीहरुमा सिंहमा सबै कार्यकुशलता देखेर नै निर्णय गरेको बताए। उनले सबै एआईजीहरु २०४९ साल चैत्र १२ गतेको नियुक्ति भएकोले उनीहरुबाट नै कार्यकुशलता र नेतृत्व प्रदान गर्न सक्ने क्षमताका आधारमा सरकारले सिंहलाई महानिरीक्षक बनाएको स्पष्ट पारे।सचिव पाण्डेले भने, ‘प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए। हाम्रो प्रचलित कानुन प्रहरी नियमावलीमा भएको व्यवस्थाले ज्येष्ठता भन्छ। ज्येष्ठता भनेपछि सबै २०४९ साल चैत्र १२ गतेको नियुक्तिको मान्छेहरु नै अहिले महानिरीक्षक हुन उपयुक्त हो।

सबै त्यही हुनुहुन्छ चार जना नै। त्यसमा ज्येष्ठता भनेपछि पदको ज्येष्ठता मात्रै नभइकन कसले संगठनलाई अविभावकीय भुमिका दिनसक्छ? हाम्रो परिवारमा बुबाको भूमिका हुन्छ नि कमाण्ड गर्न सक्ने यहाँ पनि त्यही लागू हुन्छ। यहाँ पनि अविभावकीय भूमिकाको हिसाबले सरकारले खोज्यो। त्यो हिसाबले ज्येष्ठता रोज्यो। परिपक्वताको हिसाबले सरकारले छनोट गर्‍यो। नियमावलीले कार्यकुशलता र कार्यक्षमता भनेको छ। सरकारलाई भएका एआईजीहरुमा नवनियुक्त महानिरीक्षकज्यू एआईजीबाट बढुवा हुनुभयो। उहाँको कार्य कुशलता र कार्यक्षमता सरकारलाई राम्रो लाग्यो।’

सचिव पाण्डेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको अहिलेको जनशक्तिले आवश्यकतालाई धान्न नसक्ने पनि बताए। उनले अहिलेको आवश्यकता धान्न १ लाख नेपाल प्रहरी र न्यूनतम ५० हजार सशस्त्र प्रहरीको आवश्यकता रहेको बताए।

गृहसचिव पाण्डेले आन्तरिक रुपमा रहेका विकृति र विसंगतिलाई हटाउनु दुवै प्रहरी बलका लागि चुनौती रहेको बताए। उनले विगतमा भोगेका भन्दा नवीन ढाँचाका अपराधका प्रकृतिहरु विकास भइरहेकोले तिनको नियन्त्रण र त्यस्ता चुनौतीहरुको सामना गर्न सक्षम प्रहरी संगठनको निर्माण गर्नुपर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस