६ महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र छपाइ शुरु

सफल खबर संवाददाता

आइतबार, १८ बैशाख २०७९, १० : ४६
६ महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र छपाइ शुरु

 

काठमाडौँ  ।६ महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको मतपत्र छपाइ सुरु भएको छ। 

उम्मेदवार संख्याको आधारमा छाप्ने भन्दै निर्वाचन आयोगले ६ महानगर र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाइ बाँकी राखेको थियो। शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेसँगै आइतवार मतपत्र छपाइ शुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

उनले काठमाडौं, ललितपुर, भरतपुर, पोखरा र वीरगञ्ज र विराटनगर महानगरपालिका तथा भक्तपुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका लागि करिब १४ लाख मतपत्र छपाइ हुने बताए। 

यसबाहेक स्वतन्त्र उम्मेदवार बढी भएका केही जिल्लाका लागि पनि मतपत्र पुनः छपाइ हुने जनाएको छ। अहिले कति पालिकामा स्वतन्त्र उम्मेदवार बढी भए तथ्यांक संकलन कार्य भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए। 

हालसम्म ७६ जिल्लाका १ करोड ८१ लाख मतपत्र छापिइसकेको छ। शनिबारसम्ममा ४९ जिल्लामा मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस