अस्पतालमा आगो लाग्दा करोडौंको क्षति

पत्रपत्रिकाबाट

शनिबार, १७ बैशाख २०७९, ०८ : २२
अस्पतालमा आगो लाग्दा करोडौंको क्षति

वीरगन्ज । वीरगन्ज महानगरपालिका १४ गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा विद्युत सर्ट भएर आगलागी हुँदा करोडौंको क्षति भएको छ। अस्पतालको तेस्रो तल्लामा रहेको डायलोसिस शाखामा शुक्रबार राति ९ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको हो। 

आगलागीबाट डायलोसिस शाखामा रहेका डायलोसिस मेसीन ६ वटा, भेन्टिलेटर २ वटा, कार्डियेक मोनिटर ६ वटा र बेड ६ वटा जलेर खरानी  हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको अस्पतालका सन्चालक डाक्टर अबुल हैयश अन्सारीले बताए।  आगलागीका बेला डायलोसिस शाखामा बिरामी र स्वास्थ्यकर्मी नभएकाले मानवीय क्षति भने हुन नपाएको उनले बताए। 

अन्सारीका अनुसार शुक्रबार राति ९ बजेतिर हावाहुरीसँगै पानी परिरहेका बेला चट्याङ पनि खसिरहेकाले चट्याङकै कारण डायलोसिस शाखामा विद्युत सर्ट भएर आगलागी भएको हो।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले अस्पतालको डायलोसिस शाखामा विद्युत सर्ट भएर आगो लागेको बताए। आगो  वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रको मदतमा अग्नि नियन्त्रक र प्रहरीले मिलेर निभाएको उनले बताए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।