रुस–युक्रेन युद्ध सुरु भएपछिको दुई महिनामा युक्रेनबाट ५ अर्बको वस्तु नेपाल भित्रियो

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, १२ : २९
रुस–युक्रेन युद्ध सुरु भएपछिको दुई महिनामा युक्रेनबाट ५ अर्बको वस्तु नेपाल भित्रियो

काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएपछिको दुई महिनामा युक्रेनबाट नेपालले करिव ५ अर्ब रुपैयाँको विभिन्न वस्तु आयात गरेको छ । गएको फागुन र चैत महिनामा युक्रेनबाट उक्त मूल्य बराबरको वस्तु नेपाल आएको भन्सार विभागले जनाएको छ । 

विभागका अनुसार फागुन र चैत दुई महिनामा युक्रेनबाट नेपालमा ४ अर्ब ८३ करोड २१ लाख ९२ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । रुस र युक्रेनबीच २०२२ फेब्रुअरी २४ बाट युद्ध सुरु भएको थियो जुन हालसम्म चलिरहेको छ । युद्धका कारण युक्रेनबाट नेपालले आयात गर्ने वस्तुहरु रोकिने अनुमान गरिएको थियो । तर हालसम्म युक्रेनबाट निरन्तर वस्तुहरु नेपाल भित्रिरहेको छ । 

युद्ध सुरु भएपछिको दुई महिनामा ३ अर्ब ९२ करोड ४१ लाख ८१ हजार रुपैयाँको कच्चा भटमास तथा सूर्यमुखी तेल युक्रेनबाट नेपाल भित्रिएको छ । विभागका अनुसार चैतमा ९४ करोड १८ लाख ६२ लाख रुपैयाँ र फागुनमा २ अर्ब ९८ करोड २३ लाख १९ हजार रुपैयाँको कच्चा भटमास तथा सूर्यमुखी तेल नेपालले आयात गरेको छ । 

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिना (साउनदेखि चैतसम्म)को अवधिमा युक्रेनबाट नेपालले १९ अर्ब २५ करोड ५५ लाख ५३ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सो अवधिमा नेपालबाट युक्रेनमा भने मात्र १९ लाख २९ हजार रुपैयाँको वस्तु निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ । 

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा युक्रेनसँग नेपालको व्यापार घाटा १९ अर्ब २५ करोड ३६ लाख २४ हजार रुपैयाँ रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस